

काठमाडौँ – आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा २४२ जबरजस्ती करणी (बलात्कार) का घटना भएका छन् । एक वर्षको अवधिमा उक्त संख्यामा बलात्कारसम्बन्धी जाहेरी दर्ता भएकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ ।
आर्थिक वर्ष ०७७/०७८ मा २३० वटा जाहेरी परेका थिए । यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा १९८ महिला तथा बालिकामाथि जबरजस्ती करणी भएको तथ्याङ्कले देखाएको छ । तुलनात्मक रुपले अभिलेख हेर्दा प्रदेशमा बलात्कारका घटनाहरू बर्सेनि बढ्दै गएको देखिन्छ ।
सबैभन्दा बढी जबरजस्ती करणीका घटना कैलालीमा ११९ जाहेरी दर्ता भएका छन् । त्यसैगरि कञ्चनपुरमा ३३ जाहेरी परेका छन् ।

पहाडी जिल्लाहरूमध्ये डोटीमा सबैभन्दा बढी जबरजस्ती करणीका घटना दर्ता भएका छन् । यस जिल्लामा २० जाहेरी परेको विवरणमा उल्लेख छ । यस्तै बझाङ्गमा १५, अछाम र बाजुरामा १३/१३, बैतडीमा १२ र दार्चुलामा १० घटना भएका छन् । डडेल्धुरामा सबैभन्दा कम सात जाहेरी परेका छन् ।
मुलुकी अपराध संहिता, २०७४ को भाग २ को परिच्छेद १८ मा भनिएको छ ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।’
यस्तै उक्त परिच्छेदमा करकापमा पारी, डरधाक देखाई, झुक्यानमा पारी अपहरण गरी, शरीर बन्धक राखी लिइएको मञ्जुरीलाई मन्जुरी नमान्ने उल्लेख छ ।
यसैबिच आर्थिक वर्ष ०७८/०७९ माजवरजस्ती करणी उद्योगमा ८५ घटना दर्ता भएका छन् ।
प्रहरीका अनुसार कैलालीमा ३७, कञ्चनपुरमा १६, बझाङमा ११, डडेल्धुरामा सात, अछाम, बैतडी र बाजुरामा चार/चार, डोटी र दार्चुलामा एक/एक वटा जबरजस्ती करणी उद्योगका घटनाहरू दर्ता भएका छन् ।
