

बझाङ – बझाङ सदरमुकाम चैनपुर नजिकै निर्माण हुने सेती नदी—३, जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) भएको छ । ईआईए भएसँगै ८७ मेगावाट क्षमताको अर्धजलाशययुक्त यो आयोजनाको निर्माणको प्रक्रिया अगाडि बढाइने भएको छ ।
२०७४ मा विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमति पाएको यस आयोजनाको सम्भाव्यता अध्ययन र ईआईएको काम तीन वर्ष लगाएर भएको हो । सुरुमा १ सय ६५ मेगावाट विद्युत् उत्पादनका लागि अनुमति लिएको चिलिमे हाइड्रो पावर कम्पनीले उक्त परिमाणको विद्युत् उत्पादन सम्भव नभएपछि क्षमता घटाएर अनुमति संशोधन गरेको थियो ।
‘१ सय ६५ मेगावाट उत्पादन गर्ने हो भने ४० मिटर अग्लो बाँध र १३ किलोमिटरभन्दा लामो भूमिगत सुरुङ बनाउनुपर्ने देखियो,’ आयोजनाको सम्भाव्यता अध्ययन र ईआईए गर्ने जिम्मा पाएको चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रजेस विक्रम थापाले भने, ‘यसो गर्दा सदरमुकाम र आसपासका थुप्रै बस्ती र खेतीयोग्य जमिन ढुवानमा पर्ने र अन्य वातावरणीय समस्या आउने भएपछि लाइसेन्स संशोधन गरिएको हो ।’

उनले अहिले प्रस्तावित गरिएको ८७ मेगावाट उत्पादनको लागि वातावरणीय समस्या नहुने अध्ययनबाट देखिएको बताए । ईआईए गर्ने क्रममा भुगर्भविद, वातावरणविद्, समाजशास्त्रीलगायत विभिन्न क्षेत्रका प्राविधिकको संलग्नता रहेको कम्पनीले जानकारी दिएको छ । ईआईए गर्दा आयोजना प्रभावित क्षेत्रका स्थानीयसँग पनि विभिन्न चरणमा छलफल तथा परामर्श गरिएको प्रमुख कार्यकारी अधिकृत थापाले बताए ।
वातावरणीय अध्ययनको काम सकिएकोले अब निर्माण अनुमतिको प्रक्रिया सुरु गरिने र दुई वर्षभित्रै निर्माणको काम सुरु हुने चिलिमे हाइड्रो पावर कम्पनीले बताएको छ । ‘अबलगत्तै ईआईएको स्वीकृति र निर्माण अनुमतिका लागि आवेदन गर्नेछौं,’ चिलिमे हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास मिश्रले भने, ‘यो प्रक्रियामा डेढदेखि दुई वर्ष लाग्न सक्छ । त्यसपछि निर्माणको काम सुरु हुनेछ ।’ उनले यो आयोजनाको १४ मिटर अग्लो र ६७ मिटर लामो बाँध सदरमुकाम चैनपुर नजिक पानकोटमा रहने र त्यहाँको पानी ४ हजार २ सय मिटर लामो सुरुङ मार्गबाट जयपृथ्वी नगरपालिकाको सुतियामा खसाल्ने योजना रहेको उनले बताए । प्रतिसेकेन्ड ८४.६० घनमिटर पानीको बहाव रहने यो यो आयोजनाको विद्युत्गृह पनि भूमिगत नै रहने मिश्रले बताए ।
‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमअन्तर्गत निर्माण हुने यो आयोजनाले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर दिनेछ । चिलिमे हाइड्रो पावर कम्पनीको ३१ प्रतिशत सेयर रहने यस आयोजनामा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको ५ प्रतिशत र स्थानीय सरकारको ५ प्रतिशत सेयर रहनेछ ।
यस्तै आयोजनाको ३३ प्रतिसत सेयर सर्वसाधारणलाई वितरण गरिनेछ । विद्युत् प्रसारण लाइन प्रभावित क्षेत्रका बासिन्दालाई ३ प्रतिशत र कर्मचारीलाई ३ प्रतिशत सेयर वितरण गरिने कम्पनीले जनाएको छ । आयोजना निर्माण सुरु भएपछि स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यो आयोजना निर्माणको खबरले उत्साहित भएको स्थानीयले बताएका छन् ।
