कञ्चनपुर – कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका वडा नम्बर ६ प्रेमनगरबाट करिब १४ ग्राम ७५ मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोट बस्ने २२ वर्षीय दीपेन्द्र केसी र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ गुलरिया बस्ने २४ वर्षीय गणेश भण्डारी रहेका छन् ।
सु प प्रदेश ०१-००८ प ८८७८ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभर भित्र लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागू औषध फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
सोही घटनामा संलग्न रहेको आशङ्कामा थप ४ जनालाई कैलालीको धनगढीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । धनगढीबाट पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका वडा नम्बर ४ बस्ने सन्दीप कुँवर, विक्रम कुँवर र क्षितिज बुढा तथा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ बस्ने रोशन ऐर रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् ।