काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ।
हाल देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको महाशाखाले जनाएको छ।