होल्डिङ सेन्टर सञ्चालनमा अन्योलता

Image
maya metro

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा एक हजार शैयाको सुविधा सम्पन्न होल्डिङ सेन्टर तयार भए पनि सञ्चालनमा अन्योलता देखिएको छ ।

सङ्घीय सरकारको लगानीमा निर्माण भएको सो होल्डिङ सेन्टर कसलाई हस्तान्तरण गर्ने भन्ने कुराकै टुङ्गो लाग्न नसकेपछि सञ्चालनको अन्योलता देखिएको हो । २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा बनेको होल्डिङ सेन्टर सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने वा धनगढी उपमहानगरपालिकालाई दिने भन्ने कुराको टुङ्गो लाग्न सकेको छैन ।

nisarga

‘कसलाई दिने भनेर छलफल भए पनि टुङ्गो नलागेको र अब केही दिनभित्रै निर्णय हुने  जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् ।

कोरोना महामारीका क्रममा गौरीफन्टा नाका भएर भारतबाट फर्केकाहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले ठूलो लगानीमा होल्डिङ सेन्टर बनाइएको हो । त्यसमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्सा कोठा रहेका छन् । २०७८ असार ३ मा त्यसको ठेक्का भएको थियो । हनुमान कन्स्ट्रक्सनले ठेक्का पाएर निर्माणको काम गरेको छ । अनुगमन र व्यवस्थापनको कार्य भने धनगढीस्थित नेपाली सेनाको भवानी दल गणले गरेको थियो ।

२०७८ भदौ मसान्तमै होल्डिङ सेन्टर निर्माण सम्पन्न गर्नु पर्ने समायवधि रहे पनि तोकिएको समयमा निर्माणको कार्य पूरा हुन सकेन । गएको जेठमा निर्माणको सबै काम पूरा भएको निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनले बताएको छ ।