
अत्तरिया – असोजको महिना । चारैतिर पाक्न थालेका धान । हरियाली,अग्लाअग्ला डाँडाकाँडा । दिँउसोमा अलिअलि गर्मी बिहान बेलुका अलिकति चिसो । खुल्ला आकाश , यो मौसमसंग डाह गर्दै बिहानको समयमा घाँस काट्न जानेबेला आमाहरु भन्थे, ‘फेरी आयो दसैँ,किन आँउछ होला ?’
म अहिले बुझ्दै छु आमाहरुले त्यसो किन भन्दारैछन् भनेर । खाने र खेल्ने उमेर भएकालाई आमाको टाउकोमा भएको जिम्मेवारीको बोझ कहाँ थाहा हुन्थ्यो र ? करिब १२ वर्षदेखि निरन्तरको बसाइँ भए पनि जन्मघर,गाँउ र बालापन सम्झीदा मैले बस्दै आएको यो सहर मलाइ शून्य शून्य लाग्छ । आफन्तका घरमा सोह्र श्राद्धको भात खान जानका लागि स्कुलबाट छुट्टी मागेरै घर गइन्थ्यो । श्राद्ध सकिनासाथ स्कुल पनि बिदा हुन्थ्यो । अब एक महिना भेट हुँदैन भनेर कक्षाका साथीहरुलाई सम्झना सहितको चिठी लेखेर दिइन्थ्यो ।

स्कुलमा दसैँको छुट्टी कहिले हुन्छ?गाँउमा प्राय सबै त्यसैको पखाईमा हुन्थे किनकी छोराछोरीको स्कुल बिदा भए आमाबुवालाई खेती बटुल्न सहज हुन्थ्यो । घटस्थापनाको दिन रेडियो नेपालबाट बिहान ७ बजेको समाचारमा गोपाल बस्नेतले समाचार पढ्थे “आजदेखि नेपालीहरुको महान चाड बडादसैँ सुरु, घटस्थापनको साइत…. बजे” । घटस्थापनाको दिन जमरा राख्ने शुभ साइत सुन्नकै लागी बाजेले सात बजेको समाचारको धुन बज्नासाथ सबैलाई चुपरहन भन्थे । त्यो समयमा हाम्रो पहुँचमा भएको देशको एक्लो संचारमाध्यम रेडियो नेपालको महत्व अपार थियो । अझ भन्ने हो भने रेडियो नेपालले हरेक चाडमा रौनकता थप्थ्यो ।
घटस्थापनाकै दिनदेखी रेडियो नेपालले दसैँका गीत बजाउन सुरु र्गथ्यो । म जस्ता रेडियोप्रेमीको लागि स्कुल छुट्टी हुनु भनेको रेडियो सुन्ने समय थप हुनु पनि थियो । रेडियो नेपालबाट दिउँसोको समयमा कार्यक्रम चलाउने प्रज्ञा सरद,रिता तिमल्छीना,वविता बस्नेत तथा क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट कार्यक्रम संचालन गर्ने तेजु खड्का,लिला गर्तौला,उद्धव सिहं च्वागडी,रुक्मणी पोखरेलहरु लगायतले फोन सम्पर्कमा आउने स्रोतासंग दसैँको चहलपहल र गाँउघरको हाल सोध्थे । बेलुकी ४ः३० देखी लोकदोहोरी कार्यक्रम चलाउने गोर्कण रेग्मी,नरहरी न्यौपाने र राम अविरलले दशैँकै दोहोरी गीत बजाउँथे ।
मैले तिनै गीत टिप्न एउटा कापी नै बनाएको थिए । परदेशीएकाहरु दसैँमा को-को घर फर्किन्छन् ? गाँउमा प्राय सबैलाई थाहा हुन्थ्यो । दसैँमा घर आउनेहरुलाई लिन मोटरको बाटोसम्म घरबाट आफन्त जान्थे । घटस्थापनाकै दिनदेखि दसैँको नयाँ लुगा सिलाउन दमाई दाईकहाँ गएर नाप दिएर आइन्थ्यो । अनी पो आउँथ्यो दसैँ ! विशेषगरि लुगामा गोजी ठुलो राखिदिने माग गरिन्थ्यो । अहिले आफ्नै मनमर्जीले किनेका लुगाका थुप्रोमा मैले त्यो एकजोर लुगा भेटाउन सकेकी छैन ।
उसो त घरमा अंकलले ल्याइदिएको सानो टेपमा क्यासेट राखेर “झर्ने फुल रैछ,डालीको फुल झर्न नपरोस ” लगायतका दोहोरी गीत पनी सुनिन्थ्यो । चार बज्न नपाँउदै घरका डिलैबाट जाने घाम,चिसो सिरेटो,बारीभरी पहेलै पाक्न लागेका सुन्तला,काँक्राका झुल,अम्बाका रुख अनी स्वतन्त्र जीवन । साँच्चै त्यो मौसम यो सहरमा ,यो समयमा आँउदै आँउदैन वा मैले महसुुस गर्न सकेको छैन ?
घरघरका ओखलहरुमा सिरौला र चिउरा कुटिन्थे । लाग्छ अहिले त त्यसको स्थानपनी बजारको प्याकेटवाला चिउराले लिइसकेको छ जस्को न कुनै स्वाद नै छ न कुनै बास्ना । हुनत पछील्लो समय गाँउ पनी गाँउ जस्ता छैनन् । गाँउका अधिकांश खेतबारी बाँझो छन् । जहाँ हाम्रा बाजेले गोरु चराउन लैजान्थे ति अधिकांश डाँडापाखा अहिले वनमारा( मिचाहा प्रजातीको घाँस)ले ओगटेको छ । गाँउका केहि दोकानमा दसैँ तिहारमा देखीने चहलपहल अहिले मोबाइल लगायतका प्रविधिले ओगटेको छ ।
गाँउमा सबैले खाने भनेर खसी काट्थे जस्को अधिक स्थान अहिले ब्रोइलर कुखुराले ओगटेको छ । फुपुहरु आउने बाटोतिर तीनचार दिन अगाडिदेखी हाम्रा नजर हुन्थे ,अहिले हातहातमै भएका मोबाइल फोनले त्यो प्रतिक्षाको घडी साँघुरो बनाइदिएको छ । हातमा बिहान समात्दा बेलुकी फिर्ता नहुने हजारको नोटमा मैले दक्षीणामा पाईने ५,१० रुपैँयाको अभाव देख्छु । त्यो समय साँच्चीकै सुनौलो समय थियो ।
कहिले कार्यालयको काम,कहिले घरको काम र घरको सारा जिम्मेवारी । जीम्मेवारीको बोझले थिचेको बेला त दसैँ मात्रै होईन कुनैपनी चाडवाड नै नआइदिए हुन्थ्यो जस्तै लाग्ने रहेछ ।
















