कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ

Image
maya metro

कञ्चनपुर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार गत वैशाखयता अढाई महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा तीन महिला र १२२ पुरुष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अढाइ महिनाको अवधिमा लागुऔषधसम्बन्धी ६७ मुद्दा दर्ता भएको जानकारी दिए।

nisarga

कञ्चनपुर प्रहरी, सशस्त्र प्रहरी र लागुऔषध नियन्त्रण ब्युरोले यहाँ दैनिक लागुऔषधको अवैध कारोबारी, प्रयोगकर्तालाई लागुऔषधसहित धमाधम कानुनी कारबाहीको दायरामा ल्याइरहेको छ ।

पछिल्लो समय भारतसितको खुला सीमानाका भएका कारण पनि यहाँ भारतबाट लुकीछिपी विभिन्न किसिमका लागुऔषध भित्र्याउने गिरोह सक्रिय रहेको प्रहरीको बुझाइ छ । पछिल्ला केही वर्षयता यहाँ लागुऔषधमा खैरो हिरोइनको अवैध कारोबार हवात्तै बढेको पाइन्छ । प्रहरीका अनुसार यहाँको कारागारमा ३५ प्रतिशतभन्दा बढी लागुऔषधसम्बन्धी मुद्दाका कैदीबन्दी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले प्रहरीले जिल्लाभरका प्रहरी युनिटलाई लागुऔषध न्यूनीकरणका लागि सक्रिय बनाएको बताए।

“हामीले समाजमा लागुऔषधको नियन्त्रणका लागि संलग्नलाई कारबाही र समाजमा विभिन्न ठाउँमा सचेनताका कक्षा पनि सञ्चालन गरिरहेका छौँ”, उनले भने, “प्रहरी र स्थानीय प्रशासनसँगै यसको नियन्त्रणका लागि स्वयं अभिभावक र स्थानीय पालिकाहरू पनि गम्भीर हुनुपर्ने अवस्था आइसकेको छ ।” उनले वडा/टोल तहसम्म लागुऔषध नियन्त्रण र यसको रोकथामका लागि हुने सचेतनामूलक अभियानमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिए।

उनले अढाइ महिनामा लागुऔषध मुद्दामा मात्रै पक्राउ सङ्ख्या अत्यधिक रहेको बताए। “खैरोहिरोइन २१५ ग्राम, ६२१ मिलिग्राम बरामद भएको छ”, उनले भने, “चरेस, ट्रामाडोल, फेनारगन र एम्पुललगायत लागुऔषध प्रहरीले बरामद गरेको छ।”

रासस