सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

Image
maya metro

धनगढी  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्। नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए। दावी पेश गरेलगत्तै मुख्यमन्त्री मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री भट्टले आज दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शपथपछि आजै  मन्त्रिपरिषद् गठन गर्ने तयारीसमेत गरिएको छ।

nisarga

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५१ सदस्य कायम छन्। नेकपाका दीर्घ बहादुर सोडारि निलम्बन छन् भने स्वतन्त्र सांसद डा तारा प्रसाद जोशी संघमा जितेका छन् ।  नेकपाका २१, नेकपा एमालेका ११, नेपाली कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन्। नेकपा र एमालेका सांसद जोड्दा ३२ जना पुग्छन्, जुन सरकार गठनका लागि आवश्यक बहुमत (२६) जनाभन्दा बढी हो।

नयाँ सत्ता समीकरणअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने सहमति भएको छ। एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषिमध्ये एक मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको बताइएको छ।

यसअघि नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री थिए। बजेटसम्बन्धी विवाद चर्किएपछि एमालेले असार ३१ गते शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन गुमेपछि शाहले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्।

खगराज भट्ट मुख्यमन्त्री बनेसँगै सुदूरपश्चिममा प्रदेशसभाको दोस्रो कार्यकालमा पाँचौं सरकार गठन हुनेछ। यसले प्रदेशमा पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक अस्थिरतालाई समेत उजागर गरेको छ। अब भट्ट नेतृत्वको सरकारले प्रदेशको विकास, बजेट कार्यान्वयन र स्थायित्वलाई कसरी अघि बढाउँछ भन्ने चासो बढेको छ।