
अत्तरिया – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
देउवाले बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको छ।

गन्यापधुरा प्रधानमन्त्री देउवाको गृह पालिकासमेत हो। बिहीबार गृह जिल्ला पुगेका देउवाले जिल्ला सदरमुकामको बसपार्कमा आयोजित बृहत् चुनावी आमसभालाई सम्बोधन गरेका थिए।
यसैगरी देउवाले कात्तिक १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने छन्।
कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाममा तथा सोही दिन दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।











