
धनगढी – नेपालीको महान् पर्व बडादसैँ नजिकिए पनि सुदूरपश्चिम प्रदेश सरकारले अझैसम्म चालु आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याउन सकेको छैन । करिब तीन महिनादेखि बजेटबिनै चलिरहेको प्रदेश सरकारले बजेट ल्याउने तयारी गरे पनि विविध कारणले बजेट प्रस्तुत गर्न सकेको छैन । बजेट प्रस्तुतिका लागि लगातार दुई दिन बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।
अबको दुई दिनपछि बडादसैँ सुरु हुँदै छ तर बजेट नआउँदा प्रदेश सरकारमातहतका कार्यालयमा कार्यरत कर्मचारीले तलब पाउन सकेका छैनन् । कर्मचारी साउनदेखि तलबबिनै काम गरिरहेका छन् । सरकारले बजेट नल्याउँदा दसैँमा पनि तलब नपाइने हो कि भन्ने चिन्ता उनीहरूमा छ ।

प्रदेश सरकारले चालु आवका लागि बजेट प्रस्तुत गर्न बुधबार दिउँसो र बिहीबार बिहान बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ । सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा सभाको बैठक स्थगित गरिए पनि बैठक बस्न नसक्नुको मुख्य कारण भने बजेटमाथिको विवाद रहेको जनाइएको छ । बजेटमा भएको अन्योलका कारण थप दुई दिनपछाडि प्रदेश सभाको बैठक सारिएको छ ।
सभाको अर्को बैठक असोज २४ गते बिहान ८ बजे बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी ताराकुमारी जोशीले जानकारी दिए । उनले त्यस बैठकमा प्रदेश सरकारले चालु आवको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको बताए ।
असोज २४ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्न सके फास्ट ट्र्याकबाट पारित गर्न सकिने जनाइएको छ । सरकारले चाहे प्रदेश सभा नियमावली र संविधानका नियमहरू निलम्बन गरेर चाँडै बजेट पारित गर्न सकिने प्रदेश सभा सचिवालयका उपसचिव (कानुन) लक्ष्मीप्रसाद जोशीले बताए ।















