गौरव आयोजनाको सडक बनाउँदै स्थानीय तह

Image
maya metro

दार्चुला – सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको दार्चुलास्थित निर्माणाधीन खलङ्गा–खार–देथला–पारिबगड सडकखण्डको स्तरोन्नति महाकाली नगरपालिका र नौगाड गाउँपालिकाले गर्ने भएको छ । प्रदेश सरकारको बजेट अन्योलमा परेपछि बर्र्सातमा भत्किएको प्रदेश गौरवको सडक स्तरोन्नति गर्ने गरी दुवै स्थानीय तहका प्रमुखहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

खलङ्गा–खार–देथला–पारिबगड सडकखण्डको महाकाली नगरपालिका–२, मैखोलीदेखि नौगाड गाउँपालिका–२, दल्लेखसम्मको करिब तीन किलोमिटर क्षेत्रमा सडक स्तरोन्नति गर्न अन्तरपालिका बैठकपछि सहमति भएको नौगाड गाउँपालिकाका अध्यक्ष दलजितसिंह धामीले जानकारी दिए । बुधबार नौगाड गाउँपालिका र महाकाली नगरपालिकाबिच अन्तरपालिका समन्वय बैठक भएको थियो । उनले सडक स्तरोन्नति गर्दा लाग्ने लागतको ५०/५० प्रतिशत रकम दुवै पालिकाले बेहोर्ने गरी सहमति भएको बताए । बैठकमा महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिरलगायत प्राविधिक कर्मचारीको सहभागिता थियो ।

nisarga

उक्त सडकखण्डमा बर्र्सातको पानीले खाल्टाखुल्टी बनाएको छ भने कतै पहिरो खसेर जोखिम बढेको छ । बैठकमा महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको सिमानामा सीमा बोर्ड राख्ने सहमति पनि भएको छ । प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको सडकको निर्माण हालसम्म पनि सम्पन्न हुन सकेको छैन । यो सडकलाई प्रदेश सरकारको गौरवको सडकमा समावेश गरेको आठ वर्ष बितिसकेको छ । कुनै बेला बजेट अभावले त कुनै बेला बाढीपहिरोले क्षति गर्दा सडक निर्माणमा खासै प्रगति हुन सकेको छैन् ।

सदरमुकाम खलङ्गाको महाकाली नगरपालिका–४, बङ्गाबगडदेखि नौगाड गाउँपालिकाको दल्लेक हुँदै मार्मा र अपिहिमाल गाउँपालिकामा यो सडक जोड्ने योजना छ ।

सडक आव २०७५/७६ मा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको सडक घोषणा गरी निर्माण सुरु गरेको थियो । निर्माणकै अवस्थामा रहेको सडक बर्खायाममा हिलाम्मे हुँदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सडकको खलङ्गादेखि दल्लेखसम्मको १६ किलोमिटरमध्ये अधिकांश स्थानमा सवारीसाधन सञ्चालन गर्न निकै कठिन हुने गरेको यातायात व्यवसायीले बताएका छन् । बर्खाका बेला सडकमा जमेको हिलो र खाल्टाखुल्टीका कारण यात्रु र व्यवसायीलाई सास्ती भइरहेको यातायात व्यवसायी एवं स्थानीय हरकसिंह नगालले बताए ।

कुल ९५ किलोमिटर लम्बाइको सडकको सबै ट्र्याक खुलिसके पनि २०७९ साल भदौमा गराकुखोलामा आएको भीषण बाढीले खलङ्गाभन्दा माथिको सात किलोमिटर क्षेत्रमा पूर्णतया क्षति पुर्‍याएको थियो । खलङ्गादेखि नौगाड गाउँपालिका–२, दल्लेकसम्मको १६ किलोमिटर सडकखण्डमध्ये बाढीले क्षति पुर्‍याएको सडक निर्माण कार्य भइरहेको पूर्वाधार विकास कार्यालय, बैतडीका अधिकृत इन्जिनियर जितेन्द्रसिंह धामीले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत तीन वर्षभित्र सडक कालोपत्रे गरिसक्ने लक्ष्य राखिए पनि हालसम्म ट्र्याकसमेत स्तरोन्नति गरिएको छैन ।