
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको सुप समावेशी विद्यालयको वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिस्नादेखी बोहराको सभापतित्व तथा सुदूरपश्चि प्रदेशकी सांसद तुलसी देवकोटाको प्रमुख आतिथ्यमा वार्षीकोत्सव सम्पन्न भएको हो । विद्यालय २०६७ सालमा स्थापना भएको भएपनी आजसम्म औपचारिक कार्यक्रम गरी वार्षीकोत्सव मनाईएको थिएन ।
बाह्रौं वर्षमा यसपटक विद्यालयले पहिलोचोटी औपचारिक कार्यक्रमको आयोजना गर्दै वार्षीकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै सुदूरपश्चि प्रदेशकी सांसद एवम् कार्यक्रमकी प्रमुख अतिथी तुलसी देवकोटाले विद्यालयमा आफुले सक्दो सहयोगकालागी पहल गर्ने बताईन् । ठुलो जिम्मेवारी लिएर विद्यालयले बालबालीकालाई आवाशिय रुपमा राख्दै आएको भन्दै उनले अपांगता भएका बालबालीकालाई शिक्षाको ज्योति छर्ने काम गरेको भन्दै प्रशंशा गरीन् ।

२०६७ सालमा १० जना बालबालीकाबाट सुरु भएको उत्त विद्यालयमा अहिले ११ ओटा जिल्लाका ७६ जना आवाशिय रुपमा अध्ययन गर्दै आएका छन् । विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ । अंगभंग भएर विद्यालय जान नसक्ने बालबालीकालाई विद्यालयमा आवाशिय रुपमा भर्ना लिने गरीएको विद्यालय व्यवस्थापन समितिका सँस्थापक अध्यक्ष मान बहादुर साँउदले बताए ।
पछील्लो गणीत र विज्ञान विषयक शिक्षकको अभाव रहेको उनले बताए । विद्यालयमा अध्यापन गराँउदै आएका शिक्षकको तलब दिन समेत मुस्कील हँुदै आएको उनले बताए । अपांगता भएका बालबालीकालाई जिवन धान्न सकिने खालको शिक्षा आवश्यक रहेको उनको भनाई थियो । अत्तरियामै रहेको इम्प्याक्ट नेपालले विद्यालयका बालबालीकाको कान सम्बन्धी समस्याको निशुल्क उपचार गर्दै आएको छ ।
गोदावरी नगरपालीका वडा नम्बर १२ ले वार्षीकोत्सवकै दिन विद्यालयलाई स्टेसनरी सामग्री पनी हस्तान्तरण गरेको छ । वडा अध्यक्ष भिम बहादुर खड्काले विद्यालयलाई स्टेसनरी सामग्री हस्तान्तरण गरेका हुन् ।














