
धनगढी – आधारभूत तह कक्षा ८ को परीक्षामा शून्य नतिजा ल्याउने धनगढीका सामुदायिक विद्यालयलाई चालु शैक्षिक सत्रमा १० लाख बराबरको शैक्षिक सामग्री दिइने भएको छ। शुक्रवार विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपाल हमालले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट विद्यालयहरूका लागि शैक्षिक सामग्री खरिद गरेर उपलब्ध गराउने बताएका हुन्।
नगरप्रमुख हमालले एक वर्षमा पाउने सेवा सुविधाको रकम अपुग भए आफ्नो व्यक्तिगत तर्फबाट भए पनि रकम थप गरेर विद्यालयहरूलाई १० लाख मूल्यका शैक्षिक सामग्री १७ वटै विद्यालयहरूलाई उपलब्ध गराउने बताए। विद्यालयका प्रधानाध्यापकहरूले शैक्षिक सामग्रीको अभावले पठनपाठनमा समस्या भएको बताएपछि नगरप्रमुख हमालले कापी किताब, कलम, मसी लगायत विद्यार्थीलाई पठनपाठनमा आवश्यक पर्ने शैक्षिक सामग्री खरिद गरेर प्रदान गर्ने बताए।

उनले विद्यार्थीहरूलाई विद्यालयमा टिकाउने र राम्रो नतिजा ल्याउन सबै पक्षले लाग्नुपर्ने बताउँदै शैक्षिक सामग्रीको अभावमा पठनपाठन कमजोर हुन नदिन उपमहानगरले सबै किसिमको सहयोग गर्ने बताए। धनगढीमा आयोजित १७ विद्यालयसँग गरिएको अन्तरक्रिया कार्यक्रममा आगामी शैक्षिक सत्रमा राम्रो नतिजा ल्याउन र सामुदायिक विद्यालयहरूको सिकाइ उपलब्धि राम्रो बनाउन उपमहानगरले आगामी आर्थिक वर्षमा ठोस योजना र कार्यक्रम ल्याउने भएको छ।


















