
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको किसान कृषि सहकारी संस्था लिमिटेडको आठौँ वार्षीक साधारण सभा सम्पन्न भएको छ । मंगलबार संस्थाका अध्यक्ष राधा विष्ट कुंवरको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक धनगढीका प्रमुख कृष्ण रावलको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि कृष्ण रावलले कार्यक्रममा बोल्दै बचत गर्ने बानी बसाल्नुपर्ने बताए । बचत गर्ने बानी बसाल्दा भविष्यमा आईपर्ने जोखिम पार लगाउन सहज हुने उनले बताए ।
यस किसान कृषि सहकारीमा सदस्यमा आबद्ध भइसकेपछि सदस्यहरूले निष्क्रिय भएर बस्न नपाउने उनले बताए । उनले यस सहकारी सस्थाले सदस्यहरूलाई निरन्तर विभिन्न सीपमूलक तालिमहरु प्रदान गर्दै सक्रिय रुपमा जीवनस्तर वृद्धि गर्न सहज बनाउदै आइरहेको बताए । सहकारीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुकासाथै बिना सेवा शुल्क सहज तरिकाले ऋण प्रदान गर्दै आइरहेको भन्दै सहकारीहरुले नागरिकको जनजिवन उकास्नमा महत्वपुर्ण भुमीका खेलेको उनले बताए ।

सभामा संस्थाको वार्षीक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष राधा विष्ट कुँवरले गरेकी थिईन् भने संस्थाको आयव्यय संस्थाका व्यवस्थापक सुना रोकायाले प्रस्तुत गरेकी थिइन् । व्यवस्थापक रोकायाले सँस्थाको आर्थिक बर्ष २०७९÷०८० मा ३ करोड ९३ लाख ९५ हजार ९२८ रुपैयाँको कारोबार भएको बताईन् । साथै सम्पूर्ण खर्च कटाई ६२ हजार ६७६ रुपैयाँ खुद नाफा आर्जन गरेको उनले बताइन् ।
उनका अनुसार संस्थाले निक्षेपतर्फ २ करोड १९ लाख ८७ हजार रकम बराबरको बचत संकलन गरेको छ । जगेडा कोषमा २२ लाख १३ हजार ७६७ रकम रहेको छ भने संस्थाले ३ करोड ६३ लाख ७५ हजार ७ सय ६० रुपैयाँ ऋणमा लगानी गरेको छ । प्रबन्धक रोकायाले सँस्थाका शेयर सदस्यहरूलाई कृषि क्षेत्रतर्फ आकर्षित गर्दै अर्गानिक खेती गरी विषादिमुक्त बनाई आर्थिक अवस्था सुधारमा जोडदिँदै आईरहेको बताइन् ।
उनले कृषि लाई पहिलो प्राथमिकता दिदै कृषि लाई अर्गानिक खेतिमा निर्भर गरी आगामी चालु आर्थीक वर्षमा गोदावरी नगरपालीका वडा नम्बर ४ मा रहेको गोदावरी धाम नजिकै गौशाला निर्माण गरिने बताईन् । गौशाला निर्माण गरी त्यहाँ भएका गाई बाट संकलन हुने दूध, दही, घ्यू उत्पादन संगै पशुद्वारा निर्मित अर्गानिक मल समेत उत्पादन गरी बजारमा उपलब्ध गराउने उनले बताईन् । संस्थाले महिलाहरुको जीवन स्तर उकास्नको लागि सहकारीमा आबद्ध सदस्यहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आइरहेको रोकायाले बताईन् ।
२०७२ सालमा २७ जना शेयर सदस्यबाट आएको किसान कृषी सहकारीमा हाल १ हजार ८८९ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाको कुल शेयर पूंजी ४६ लाख ९२ हजार १ सय रहेको छ । कार्यक्रममा विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी, ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक बासुदेव भट्ट, लगायतको सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रममा विभीन्न संघसँसथाका प्रतिनिधी तथा शेयर सदस्यहरुको उपस्थीती रहेको थियो । कार्यक्रममा सँस्थाकी उपाध्यक्ष शान्ति कामीले स्वागत मन्तव्य राखेकी थिईन् ।














