

अत्तरिया – गएको वर्खायाममा सुदूरपश्चिमका सडकमा झण्डै ३० करोडको क्षति भएको छ । गत वर्खामा कैलाली,दार्चुला र बझाङ का सडकमा बढी क्षति भएको हो । नौ जिल्ला रहेको सुदूरपश्चिममा सडक डिभिजन कार्यालयका ४ ओटा शाखा रहेका छन् । कैलाली र कञ्चनपुर सडक डिभिजन कार्यालय महेन्द्रनगरले हेर्दै आएको छ । त्यसैगरी बैतडी,बझाङ र दार्चुला सडक डिभिजन बैतडको कार्यक्षेत्र हो भने डोटी र डडेल्धुरा सडक डिभिजन कार्यालय कुलपाते डोटीको कार्यक्षेत्र हो ।
त्यसैगरी अछाम र बाजुरा सडक डिभिजन कार्यालय अछामले हेर्दै आएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरको मातहतमा रहेका सडकमा गत वर्खामा १० करोडको सडक क्षति भएको सुचना अधिकारी पियुष चटौतले जानकारी दिए । उनले अत्तरियादेखी फल्टुडेसम्मको सडक ३ ठाँउमा बिग्रीदा १० करोड बराबरको क्षति भएको बताए । सडक मर्मत तथा पुर्नस्थापनाकालागि परामर्सदाताको टोलीले अध्ययन गरीरहेको चटौतले बताएका छन् ।
त्यस्तै सडक डिभिजन बैतडी अन्र्तगतका सडकमा १२ करोडको क्षति भएको छ । पहिरो र कटानका कारण दार्चुला र बझाङको सडकमा १२ करोडको क्षति भएको सडक डिभिजन बैतडीका ईन्जीनीयर राहुल पाण्डेले जानकारी दिए । सडक पुर्ननिर्माणकालागि पहल भईरहेको उनको भनाई छ । त्यसैगरी सडक डिभिजन कार्यालय कुलपाते डोटी मातहतका सडकमा ७ करोड ७१ लाख बराबरको क्षति भएको भएको छ ।

महाकाली राजमार्ग (फल्टुडेदेखी स्याउले)मा २ करोड ३३ लाखको सडक र मध्यपहाडी राजमार्ग (चौखुट्टे अनारखोली सडक)मा ५ करोड ३८ लाखको सडक क्षति भएको सुचना अधिकारी रामचन्द्र जैशीले जानकारी दिए । उनका अनुसार सडक मर्मतकालागि सम्झौताको प्रक्रिया अगाडि बढाईएको छ । त्यस्तै सडक डिभिजन कार्यालय अछामका ईन्जीनियर अरभिन्द्र कुमार गुप्ताका अनुसार अछाम र बाजुराका सडकमा गत वर्खामा कुनै ठुलो क्षति भएको छैन ।
“अछाम र बाजुराका सडकमा गत वर्खामा कुनै ठुलो क्षति बेहर्नु परेन उनले भने सामान्य पहिरो गएको थियो त्यो हामीले त्यहि समयमा पन्छाएका थियौँ ।” कतिपय सडकमा क्षति पुगेको लामो समय भइसक्दा पनि मर्मतसम्भार तथा पुर्नस्थापनाको काम हुन सकेको छैन । ट्राफिक प्रहरीले सडक दुर्घटनाको कारणका रुपमा सडकको अवस्थालाई पनि औल्याउँदै आएको छ । यहि दशैँको अवधीमा मात्रै सूदुरपश्चिममा सडक दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् ।
