पश्चिम सेती प्रसारण लाइन छिट्टै निर्माण गरिने

Image
maya metro

चार सय केभीको पश्चिम सेती (बझाङ–वनलेक–दोदोधरा) विद्युत प्रसारण लाइन छिट्टै निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिने सङ्घीय सरकारले प्रतिबद्धता जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग गरेको भेट र छलफलको क्रममा सो लाइन छिट्टै निर्माण गर्नका लागि प्रतिबद्धता जनाइएको हो ।

nisarga

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले यो लाइनको अध्ययन गरिरहेको छ । सुदूरपश्चिम प्रदेशको विकासको लागि आवश्यक यो प्रसारण लाइन भारतीय इक्जिम बैङ्कको ऋण सहयोगमा बन्नेछ ।

यसैगरी, बुढीगंगा जलविद्युत आयोजनाका लागि निर्माण गर्नुपर्ने बूढीगंगा पहलमानपुर १३२ केभी प्रसारण लाइनको निर्माण अगाडि बढाउनका लागि पनि ऊर्जा मन्त्रालय र विद्युत विकास विभागलाई निर्देशन दिने छलफलमा सहमति भएको छ ।

विद्युत विकास विभागले बनाइरहेको यो लाइन पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत आयोजनाको लागि आवश्यक छ ।