अत्तरिया – नवजीवन सहकारी संस्था लिमिटेड अत्तरिया एकाईको साधारण सभा सम्पन्न भएको छ । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको अत्तरिया शाखाले आईतबार आफ्नै भवनको सभाहलमा ३० औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष देवबहादुर बमको सभापतित्वमा सम्पन्न साधारण सभाका प्रमुख अतिथि गौरीगंगा नगरपालीकाका नगर प्रमुख देवीदत्त कडेल रहेका थिए ।
साधारण सभामा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन प्रस्तुत अनुसार संस्थाले आर्थिक वर्ष २०७९\०८० मा ५ अर्ब ५० करोड ३७ लाख ८६ हजार रकम बराबरको आर्थिक कारोबार गरेको छ । संस्थाले यस वर्ष १२ करोड ४८ लाख ६२ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमा उल्लेखित छ । जुन गत वर्षको भन्दा मुनाफा ७.९८ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै जगेडा कोषमा पनि वृद्धि भई ५५ करोड ५४ लाख पुगेको र संस्थाले ३ अर्ब ९१ करोड ४६ लाख २५ हजार बराबरको रकम कर्जामा लगानी गरेको छ । संस्थाको बचततर्फ पनि गत वर्षको भन्दा यस वर्ष ७.९० प्रतिशतले वृद्धि भई ४ अर्ब ४१ करोड ४५ लाख ४१ हजार रकम बराबरको निक्षेप संकलन भएको उल्लेख छ ।
यस्तै संस्थाको शेयर पूँजीमा पनि गत वर्षको भन्दा ४.७८ प्रतिशतले वृद्धि भएर आ व २०८० आषाढ मसान्त सम्ममा २८ करोड २४ लाख ५४ हजार पुगेको छ भने शेयर सदस्य संख्या पनि वृद्धि भई संस्थाको हाल सम्म जम्मा शेयर सदस्य संख्या ३२ हजार १ सय ४० जना रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले साधारण सभाको अवसर पारेर आबद्ध सदस्यहरु मध्ये संस्थामा उत्कृष्ट कारोबार तथा असल ऋणीलाई सम्मान गर्दै शिक्षा पदकमा समेत पुरस्कृत गरेको थियो । २०८० असार मसान्त सम्म संस्थामा शेयर सदस्यको संख्या ३२ हजार १४० पुगेको छ ।