अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकार लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको छ । यही फागुन २३ र २४ गते हुने उक्त सम्मेलनका लागि सरकारले आवश्यक तयारी थालेको हो । सो सम्मेलनका लागि प्रदेश सरकारले लगानीकर्तासहितका विभिन्न निकायसँग छलफल अगाडि बढाएकाले मुख्यमन्त्री कमलबहादुर शाहको दौडधुपले अहिले तीव्रता पाएको हो ।
यसैबिच मुख्यमन्त्री शाहले लगानीको पहिलो प्राथमिकता क्षेत्र ऊर्जा रहेको बताएका छन् । शाहले भने, ‘हाम्रो पहिलो प्राथमिकता ऊर्जा क्षेत्र हो, दोस्रो पर्यटन हो । तेस्रो भनेको कृषि क्षेत्र हो । कृषि क्षेत्रमा पनि कोही ठुलो लगानी गर्न आउन चाहान्छ भने सरकारले दिनुपर्ने सुविधा दिन तयार छ । त्यसपछि हाम्रा जडीबुटी, खनिजलगायत क्षेत्रहरू पनि छन् । यी सबै क्षेत्रमा प्राथमिकताका आधारमा हामी छलफलमा ल्याउन चाहान्छौँ ।’
तर अहिलेसम्म प्रदेश सरकारले लगानी सम्मेलनमा पेस गर्ने आयोजनाबारे खुलाएको छैन । कुन क्षेत्रमा कस्ता र कति लगानीका आयोजनाको सम्भाव्यता अध्ययन भएका छन्, त्यस बारे खुल्न नसकेका हुन् । मुख्यमन्त्री शाहले थपे, ‘सम्मेलन यहाँको आवश्यकताको विषय हो । कुनै पनि सरकारले यस्ता किसिमका कार्यक्रम गर्नुपर्छ । प्रभावकारी ढङ्गले गर्नुपर्छ ।
त्यस कारणले नेपालमा लगानी सम्मेलन प्रदेश स्तरमा र केन्द्रीय स्तरमा भइरहेका छन् । हामी त्योभन्दा फरक ढङ्गले लिन खोजिरहेका छौँ । त्यो भनेको एउटा प्रोजेक्ट नै सो गरेर, तयार गरेर त्यसमा सबैलाई कन्भिन्स् गरेर लगानीको वातावरण बनाउने पाटोमा हामी अगाडि बढिरहेका छौँ । त्यस कारण हामी के भन्छौँ भने निरन्तर चलिआएको लगानी सम्मेलनभन्दा नयाँ तरिका, नयाँ सन्देश दिने हिसाबले र ठोस रूपमा उपलब्धि हासिल गर्ने उद्देश्यले लागिरहेका छौँ ।’