आज ४२औँ राष्ट्रिय मगर एकता दिवस

Image
maya metro

देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन्।

मगर समुदायको बाहुल्यता रहेको नवलपरासी बर्दघाट सुस्तापूर्वका विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन्। नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर सङ्घका उपाध्यक्ष  इन्द्र फालमगरले बताए।

nisarga

मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने उनले बताए।

उनले भने ‘विभिन्न कारणले लोपोन्मुखरूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने छ।’

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ। यो कुल जनसङ्ख्याको छ दशमलव नौ प्रतिशत हुन आउँछ।