चितवनको एक विद्यालयको होस्टेलमा झुन्डिएको अवस्थामा छात्राको शव फेला परेको छ । चितवनको रत्ननगर नगरपालिका– १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलको कक्षा आठमा अध्ययनरत १३ वर्षीया शालीन पोखरेल आफू बस्ने कोठामा झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।
विद्यालयको होस्टेलमा झुन्डिएको अवस्थामा छात्राको शव भेटिएपछि प्रहरीले प्रधानाध्यापकसहित तीनजनालाई पक्राउ गरेको छ । पोखरेलका परिवारले हत्या भएको दाबी गरेका छन् । प्रहरीले पोस्टमार्टमलगायत रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या भन्न सकिने जनाएको छ ।
अनुसन्धानका लागि प्रहरीले विद्यालयका प्रधानाध्यापक रत्ननगर– १० का ६० वर्षीय बालहरि देवकोटा, सहायक प्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
गत १२ फागुनमा होस्टेलको आफू बस्ने कोठाको फ्यानमा स्काउटको डोरीले झुन्डिएको अवस्थामा बालिका मृत भेटिएकी थिइन् । शालीनको मृत्युपछि उनका बुबासहित परिवारजनले उनीहरूविरुद्ध हत्याको आरोप लगाउँदै किटानी जाहेरी दिएका थिए । प्रहरीले किटानी जाहेरी दर्ता नगरेपछि मृतकका परिवारले शालीनको न्यायका लागि अभियान चलाएका छन् । गोरखा अजिरकोट गाउँपालिका– ५ स्थायी घर भएकी बालिका विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्दै आएकी थिइन् ।
शालीनको शव काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । पोस्टमार्टमको रिपोर्ट अझै नआउनुले पनि आफूहरूलाई चलखेलको आशंका बढाएको मृतकका बुबा दीपेन्द्र पोखरेलको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारी घटना अनुसन्धानकै क्रममा रहेकाले हत्या वा आत्महत्या के हो भन्न नसकिने बताएका छन्। मृतकका परिवारकै आग्रहअनुसार नै शव काठमाडौं लगेर पोस्टमार्टम हुन लागेको उनले बताए । शवको पोस्टमार्टम रिपोर्ट आएपछी र सिसिटिभी फुटेजदेखि विभिन्न प्रमाणहरूको अध्ययन–अनुसन्धान सुरु भएको प्रहरीको भनाइृ छ । सुसाइट नोट पनि भेटिएको र त्यसउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।