नवनियुक्त शिक्षकको दुखेसो : आयोग पास गरे पनि पढाउने विद्यालय पाएनौँ

Image

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा पास गरेर गत चैत २५ गते शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कञ्चनपुरबाट नियुक्ति पत्र पाए। प्राथमिक तह तृतीय श्रेणीमा नियुक्ति पाएको तीन साता बितिसक्दा पनि उनले अध्यापन गराउनुपर्ने विद्यालयको टुंगो लागेको छैन। उनीजस्तै आयोग पास गरेका नन्दाकुमारी चन्दले पनि नियुक्तिका लागि गुहार माग्दै हिँड्नुपरेको छ।

गत चैत २६ गते बेल्डाडी गाउँपालिका कार्यालय पुगेका नवनियुक्त शिक्षक भट्ट र चन्दसँगै हालै आयोग पास गरेकी मोनिका चन्दले पनि कार्यालय धाउँदा पनि शिक्षा विकास तथा समन्वय एकाइ र बेल्डाडी गाउँपालिकाबीचको आपसी असमझदारीका कारण पढाउने विद्यालयको टुङ्गो लाग्न नसकेको बताइन्।

बेल्डाडी गाउँपालिकाले कार्यालयमा आएकामध्ये एकजनालाई मात्रै अध्यापनका लागि विद्यालयमा खटाउन सकिने बताएपछि अन्योल सिर्जना भएको नवनियुक्त शिक्षकले बताएका छन्।

‘गत वर्ष पनि दुईजना माग गर्दा शिक्षा एकाइले पाँचजना शिक्षक पठाएको रहेछ, योपटक पनि एकजना माग्दा तीनजना पठाएकाले पालिकाले नियुक्त पत्र दर्ता गर्न अस्वीकार गरेको छ’, नवनियुक्त शिक्षक भट्टले भने।

उनले समस्या समाधानका लागि धेरै ठाउँ धाउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे। ‘सुदूरपश्चिम विश्वविद्यालय आएका वेला शिक्षामन्त्री सुमना श्रेष्ठलाई समेत भेटेर आफ्नो समस्या राखेका थियौँ, मन्त्रालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म लिखित निवेदन दिँदासमेत अहिलेसम्म समस्या समाधान भएको छैन’, भट्टले गुनासो गरे।

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कञ्चनपुरका प्रमुख दीपक कलौनीले तीनजनालाई नियुक्ति दिई बेल्डाडी गाउँपालिका पठाइएकामा एकजना मोनिका चन्दलाई मात्रै अध्यापनका लागि राखेको बताए।

‘पालिकाले स्थान रिक्त हुँदाहुँदै हाजिर हुन दिएको छैन। त्यसैले जिल्ला प्रशासनसँग समन्वय गरी ती शिक्षकको व्यवस्थापनका लागि पहल गर्छौं’‚ कलौनीले भने। पालिकाले अटेर गरे दुई दरबन्दी काटेर शिक्षक–विद्यार्थीको उच्च अनुपात भएका विद्यालयमा लगेर पनि शिक्षकको व्यवस्थापन गरिने उनको भनाइ छ।

रासस