रासायनिक मल प्रतिस्थापनका लागि किसानलाई ‘ढैँचा’ उमार्न आकर्षित गर्दै कृष्णपुर

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले किसानलाई ढैँचा उमार्न आकर्षित गर्न थालेको छ । पछील्लो समय कृषिमा अत्याधिक मात्रामा प्रयोग हुँदै आएको रासायनिक मल प्रतिस्थापन गर्न नगरपालिकाले ढैँचा उमार्न किसानलाई आकर्षित गर्न थालेको हो । जस अन्तगरत नगरपालिकाको कृषि शाखाले एक लाख पचास हजार बराबरको बिउ ५९ जना किसानलाई ८० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

रासायनिक मलको सट्टा ढैँचाको बिरुवा उमारेर मलका रूपमा प्रयोग गरी धान, गहुँलगायत अन्नबाली उत्पादन गर्न सकिन्छ । बीउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैँचाको बोटलाई खेत हिल्याउने क्रममै जोतेर माटोमा मिलाइन्छ । यसरी जोतेर माटोमा मिलाएपछि ढैँचाको एक साताभित्रै कुहिएर मल बन्दछ ।

त्यसपछि लगाइने बालीमा अरू मल राख्नुनपर्ने कृषि शाखा प्रमुख लाल बहादुर धामीले बताए । खेतमा ढैँचा रोपेका किसान विजय रानाले पहिलो पटक रोपेको हुँदा पर्याप्त पानी हाल्न नसक्दा प्रशस्त नउम्रेको बताए । ‘यो पहिलो पटक रोपेको छु,कस्तो हुन्छ अब केहि दिनमा थाहा हुन्छ उनले भने ।’ यसपटक लामो समय खडेरी परेको र बिउ लिएका सबै किसानसंग सिँचाइ मोटर पनि नभएका कारण ढैँचा केहि कम उम्रिएको कृषि शाखा प्रमुख धामीको भनाई छ ।

ढैँचा मलको प्रयोगले रासायनिक मलमाथिको निर्भरता हटाउन सकिने धामी बताँउछन् । ‘रासायनिक मल खरिदका लागि एकातिर बर्सेनी ठूलो परिमाणमा पैसा विदेशिने गरेको छ भने अर्कातिर माटो बिग्रिदै गएको छ,उनले भने ढैँचा मलको प्रयोग बढाउन सक्यौँभने दोहोरो फाइदा पुग्छ ।’ नेपालमा उत्पादन नहुने र बाह्य देशबाट ल्याउनुपर्दा समयमा रासायनिक मल नपाउँदा बर्सेनि किसानहरूले समस्या भोग्दै आएका छन् ।

रासायनिक मलको प्रयोग न्यूनीकरण गर्न, माटोको उर्वरा शक्ति प्राकृतिक माध्यमबाटै वृद्धि गर्न र कृषि उत्पादनलाई विषादीमुक्त बनाउन ढैँचा मल उपयुत्त हुने कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए । रासायनिक मलको विकल्पका रुपमा कृष्णपुरले ढैँचा मलको प्रयोग गर्न किसानलाई आकर्षित गर्न खोजिरहेको उनको भनाई छ ।

‘हाम्रा खानेकुराहरुमा विषादी धेरै नै हुन थाल्यो,अर्कोतिर माटोको रासायनिक मलको अन्दाधुन्द प्रयोगले माटोको उर्वराशत्तिमा ह्रास आउँदै गएको अवस्था छ भने अर्बौ रकम विदेशिँदा पनि समयमा मल नपाउने समस्या पनि उस्तै छ त्यसैले हामीले विकल्पका रुपमा ढैँचा मलको प्रयोग लाई बढाउन खोजिरहेका छौँ,उनले भने ।’ कृष्णपुरले अब अग्र्यानिक कृषि क्रान्ति लाई प्राथमिकता दिने ओझाको भनाई छ ।

नेपालमा हरेक वर्ष खेतीपातीको मुख्य सिजन धान रोप्ने बेला किसानले वर्षेनि मलको समस्या झेल्दै आएका छन् । किसानलाई बर्सेनि सात लाख मेट्रिक टन युरिया मल आवश्यक हुन्छ भने अभाव नहुने गरी वितरण गर्ने हो भने रु ३० अर्ब रासायनिक मल खरिदमा विदेश पुग्छ । यस्तो अवस्थामा जैविक मलको प्रयोग उत्तम विकल्प हुनसक्ने बताईएको छ ।

कुष्णपुरलाई कृषि हब बनाउने उदेश्य लिएको नगरपालिकाले गहुँ काटेपछी धान रोप्ने बेलासम्म जमिन खाली नरहोस् भनेर मुंग दालको बिउ पनि वितरण गर्ने गरेको छ । ‘कृषि क्रान्तिमा कृष्णपुरको आफ्नै निति छ छ,ओझाले भने गहुँ काटेपछी धान रोप्ने बेलासम्म जमिन खाली नरहोस् भनेर हामीले ८० प्रतिशत अनुदानमा ४१२ जना किसानलाई मुंग दालको बिउ पनि वितरण गरेका छौँ ।’