नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा सोडारी दोषी ठहर

Image

विशेष अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडरीकी पत्नी गीता सोडारीलाई नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको छ । अ

ध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले करिब दुई वर्षअघिको मुद्दामा दोषी ठहर गरेको हो । बोर्ड अफ सेकेन्डरी एजुकेसन दिल्लीबाट एकै तहका दुई वटा नक्कली शैक्षिक प्रमाणपत्र बनाई त्यसका आधारमा राहत शिक्षक नियुक्त भएको अभियोग सोडारीमाथि लगाइएको थियो ।

अदालतले सोडारीलाई भ्रष्टाचार निवारण ऐनको कसुरमा छ महिना कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्च अदालतमा पुनरावेदनको सुविधा पाउने छन् ।

सोडारीले नक्कली प्रमाणपत्रका आधारमा कैलालीको धनगढी उपमहानगरपालिका–९ को शिव निम्न माध्यमिक विद्यालयमा प्राथमिक तहको राहत शिक्षकको नियुक्ति लिएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको थियो ।

अख्तियारले २०७९ असोज ७ गते मुद्दा दायर गरेको थियो । योग्यता ढाँटेर झुटा विवरणका आधारमा राष्ट्र सेवकको ओहोदा प्राप्त गरेको अख्तियारको आरोप थियो ।