नाइरोबी फ्लाई किराले छालामा सङ्क्रमण

Image

अत्तरिया – नाइरोबी फ्लाई किराका कारण कैलालीका स्थानीयमा छालासम्बन्धी समस्या बढेको छ । बर्खायाम लागेसँगै छालामा सङ्व्रmमण (एलर्जी) हुने समस्या बढ्दो रूपमा देखिएको हो ।

नाइरोबी फ्लाई नामक किराका कारण सङ्क्रमण भइरहेको चिकित्सकले बताएका छन् । मानिसको शरीरमा पेडेरिन रसायन छाडेपछि छालामा जलन हुने, चिलाउने, छाला रातो हुने जनैखटिरा जस्तै खटिरा देखिने समस्या हुने गरेको जनाइएको छ ।

१२ देखि ३६ घण्टापश्चात् उक्त घाउबाट तरल पदार्थ चुहिने जस्ता लक्षणसमेत देखा पर्ने गरेको चिकित्सकको भनाइ छ । यो किराका कारण छालामा भएको सङ्क्रमण सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने जनाइएको छ ।

के हो नाइरोबी फ्लाई ?

नाइरोबी फ्लाई सुन्तला र कालो रङको एक प्रकारको किरा हो । यो सामान्यतया पानी परेपश्चात् वा बढी आद्रता भएको स्थानमा पाइने गर्छ । यो किराले मानिसलाई टोक्दैन तर सम्पर्कमा आएपश्चात् नाइरोबी फ्लाईले निकाल्ने एक प्रकारको अम्लले छालामा एलर्जी गराउने गरेको बताइएको छ ।

जोगिने उपाय

नाइरोबी फ्लाई किराको सम्पर्कबाट बच्नका लागि राति झुल टाँगी चम्किलो बत्ती निभाएर सुत्न आग्रह गरिएको छ । चम्किलो बत्तीले अन्य किरालाई जस्तै नाइरोबी फ्लाईलाई पनि आकर्षित गर्ने भएका कारण चम्किलो बत्तीमुनि बस्न नहुने बताइएको छ ।

यस्तै बाहिरको चम्किलो बत्ती पनि कम गर्न र लामो बाहुला भएको लुगा, पाइन्ट लगाउन आग्रह गरिएको छ । छालामा नाइरोबी फ्लाई किरा बसेमा त्यसलाई नमाडी हल्कासँग फुकेर भगाउन सकिने जनाइएको छ ।