धनगढीमा दुई वर्षमा ९२ हजार ३४२ जनाले लिए विशेषज्ञ वडा क्लिनिक बाट उपचार सेवा

Image
maya metro

धनगढी – धनगढी उपमहानगरपालिकाले २ वर्षमा ९२ हजार तीन सय ४२ जना नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिएको छ। धनगढी उपमहानगरपालिकाले २०७९ श्रावण १ गतेदेखि २०८१ श्रावणसम्म ९२ हजार ३४२ जनालाई निःशुल्क उपचार सेवा दिएको हो। कैलालीको धनगढी उपमहानगरपालिकाका १९ वटै वडाहरूमा विशेषज्ञ वडा क्लिनिक सञ्चालन हुँदै आएको छ। ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य उपचारलाई ध्यानमा राखेर विशेषज्ञ वडा क्लिनिक सञ्चालनमा ल्याएको नगर प्रमुख गोपाल हमालले बताए।

धनगढी उपमहानगरपालिकाले तालिका अनुसार सञ्चालन गर्दै आएको विशेषज्ञ वडा क्लिनिकमा जनरल फिजिसियन, स्त्री तथा प्रसूति रोग सेवा, आँखा जाँच सेवा, दन्त रोग उपचार सेवा, हाड जोर्नी तथा नसारोग उपचार सेवा, प्रयोगशाला सेवा, इसीजी सेवा, भिडिओ एक्सरे सेवा र गर्भवतीको स्वास्थ्य अवस्थाको परीक्षण सेवा दिने गरेको छ। नगर प्रमुख गोपाल हमालका अनुसार ६ हजार तीन सय ३६ महिला र २ हजार ६ सय २२ पुरुष गरेर आठ हजार नौ सय २९ जनाको रोगको पहिचान भएको छ। उनीहरूलाई थप उपचारका लागि रेफर गरिएको हो।

nisarga

धनगढी उपमहानगरपालिकाका १९ वटै वडाहरूमा २ वर्षमा ४५ हजार तीन सय ५९ जनाले फिजिसियन सेवा, १७ हजार आठ सय ४८ जनाले स्त्री तथा प्रसूति सेवा, २६ हजार ६५ जनाले आँखा परीक्षण तथा उपचार सेवा, २ हजार नौ सय ६१ जनाले दन्त उपचार सेवा, एक सय नौ जनाले हाडजोर्नी सेवा, सात हजार ८५ जनाले प्रयोगशाला सेवा, चार हजार नौ सय ८० जनाले इसीजी सेवा, १० हजार चार सय ६ जनाले भिडिओ एक्सरे सेवा र नौ हजार २ सय ४९ गर्भवती महिलाले उपचार तथा स्वास्थ्य परीक्षण सेवा लिएका छन्। धनगढी उपमहानगरपालिकाको तथ्याङ्क अनुसार २ वर्षमा ७० वर्ष माथिका पाँच हजार चार सय ३७ जनाले सेवा लिएका छन्।