अत्तरिया – स्केटिङ खेलप्रति पछिल्लो पुस्ताको आकर्षण बढ्दै गएको छ । कैलालीको अत्तरियामा रहेको स्केटिङ सेन्टरमा दिनमै सयौँ जनाले स्केटिङ खेल्ने गरेका छन् । अत्तरियामा हाल दुईओटा स्केटिङ सेन्टर सञ्चालनमा रहेका छन् । अत्तरिया चौराहको सुदूर सिटी सेन्टरको भवनमा गत वैशाखमा मात्रै सञ्चालनमा आएको अत्तरिया स्केटिङ सेन्टरमा बिदाको दिनमा ५ सय जनाभन्दा बढीले स्केटिङ खेल्ने गरेका छन् ।
अत्तरिया स्केटिङ सेन्टरमा हरेक दिनजसो दुई सय पचास भन्दा बढीले स्केटिङ खेल्ने गरेको सञ्चालक भुवन महराले बताए । उनका अनुसार शनीबार वा अन्य बिदाको दिनमा पाँच सयभन्दा बढी व्यक्तिहरु स्केटिङ खेल्न पुग्ने गरेका छन् । अधिकांश १२ देखी २२/२३ उमेर समूहका व्यक्तिहरुले यो खेल रुचाएको पाईएको महराले बताए ।
स्केटिङ साहसिक खेल पनि भएकाले यो उमेर समूह यस खेलप्रति आर्कषित भएको हुन सक्ने उनको भनाई छ । करिब ३५ लाख लगानीमा सञ्चालनमा आएको अत्तरिया स्केटिङ सेन्टरमा ६ जना कर्मचारी रहेका छन् । स्केटिङ खेल्न १३ वर्ष मुनीकालाई प्रति १ घण्टाको १५० रुपैँया शुल्क लिने गरिएको छ भने १३ वर्ष माथिकालाई २०० रुपैँया लिने गरिएको सञ्चालक महराले बताए ।
बालबालिकाको लागि छुट्ट्रै व्यवस्था गरिएको यो स्केटिङ सेन्टरमा मासिकरुपमा चार हजारमा दिनको डेढ घण्टा खेलाउने गरिएको छ । नेपालमा सन् २००८÷०९ देखि अरनिको स्केट शपले विदेशी स्वयंसेवक ल्याई नेपाली युवा विद्यार्थीलाई भौतिकरूपमै स्केटिङ र स्केटबोर्ड खेल सिकाउन थालेको थियो ।
त्यसपछि नेपालमा सन् २०१५ मा ११ सदस्यीय ‘नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ’ तदर्थ समिति गठन गरी यस खेलको औपचारिक सुरुवात भएको थियो । स्केटिङ पचास वर्षभन्दा अघि अर्थात् १९७० मा अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको थियो ।