लोकडेउडा गायक डोटेली कान्छा सम्मानित

Image

अत्तरिया – लोकडेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ लाई नेपाल सांस्कृतिक कलाकर्मी संघले सम्मान गरेको छ । संविधान दिवसको अवसर पारेर बिहीबार नाचघरमा आयोजित समारोहबीच डोटेली कान्छालाई संघले सम्मान गरेको हो । उनलाई पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले सम्मानपत्र प्रदान गरेका थिए ।

लामो समयदेखि नेपाली गीत-संगीतको संरक्षण, सम्वर्द्धनमा पु-याएको योगदानको कदर स्वरुप सम्मान गरिएको संघ अध्यक्ष उदिराम खड्काले बताए । उनको नेपालको राजनीति, सामाजिक क्षेत्र र कला संस्कृतिमा महत्वपूर्ण योगदान छ । सुदूरपश्चिममा रहेर देउडा संरक्षणमा अहम भूमिका खेल्दै आउनु भएको छ । यहाँको यात्राले आगामी दिनमा थप उचाइ लिने विश्वास छ, अध्यक्ष खड्काले भने ।

सम्मानित हुन पाउँदा थप जिम्मेवारी बोध भएको डोटेली कान्छाले बताए । संघको स्थापनाकालमा डिबी गुरुङ अध्यक्ष हुँदा आफू उपाध्यक्ष रहेको स्मरण गर्दै उनले संघ आजको अवस्थामा आइपुगेको देख्दा खुसी लागेको बताए । नेपाली कांग्रेस सुदूरपश्चिम प्रबक्तासमेत रहेका डोटेली कान्छा दर्जन बढी संस्थामा नेतृत्व गर्नुका साथै थुप्रै सम्मानबाट सम्मानित भइसकेका छन् ।