कञ्चनपुरमा खाद्यले १५ हजार क्वीन्टल धान खरिद गर्दै

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले तीन स्थानबाट धान खरिद गर्ने भएको छ।

महेन्द्रनगरमा रहेको शाखा कार्यालय, बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा डिपो राखेर धान खरिद गरिने भएको हो। स्थानीय तहको समन्वयमा बेदकोट र शुक्लाफाँटामा स्थान निर्धारण गरी धान खरिद गर्ने तयारी गरिएको कार्यालयका प्रमुख सुदर्शन थापाले बताए।

nisarga

सोमबारदेखि धान खरिद प्रक्रिया सुरु गरिने उनले बताएका हुन्। धेरै वर्षपछि कम्पनीले शाखा कार्यालय बाहिर डिपो राखेर धान खरिद गर्न लागेको हो। डिपो राख्न कम्पनीको प्रदेशस्थित कार्यालयको टोलीले स्थलगत अध्ययन–अनुगमनको कार्य गरिसकेको छ।

किसानबाट गुणस्तरीय धान खरिद गरिने उल्लेख गर्दै शाखा प्रमुख थापाले माटो भएको, भुुस, पराल भएको, भिजेको धान खरिद नगरिने बताएका छन्। कम्पनीले किसानबाट मात्र धान खरिद गर्न लागेको हो। निर्धारित समर्थन मूल्यअनुसार प्रतिक्वीन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा कम्पनीले किसानबाट मोटो धान खरिद गर्नेछ।

तीनवटै स्थानबाट १५ हजार क्वीन्टल धान खरिद गरिने लक्ष्य राखिएको छ। गत वर्ष कम्पनीले दुई हजार ९ सय क्वीन्टल धान खरिद गरेको थियो। कम्पनीले गत वर्ष निर्धारित लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन। स्थानीय व्यापारीले अहिले प्रतिक्वीन्टल धान दुई हजार तीन सयदेखि दुई हजार ७ सयसम्ममा खरिद गरिरहेका छन्।

रासस