
अत्तरिया – सुदूरपश्चिम महोत्सव १८ औँ संस्करण आजदेखि सुरु हुँदै छ । आगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १८ औँ संस्करण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने भएका छन्।
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।

यस क्षेत्रका समग्र सम्भावना उजागर गरी आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनःस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने सङ्घका अध्यक्ष पुष्पराज कुँवरको भनाइ छ ।
महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि विशेष जोड दिइने छ । महोत्सव आयोजना गर्न तीन करोड लागत लाग्ने र १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । यस्तै, यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी पाँच सय ३१ वटा स्टल रहेका छन् ।
सधैँका संस्करणमा झै यस पटक पनि महोत्सवमा बिक्री हुने टिकटको केही रकम सामाजिक कार्यका लागि छुट्टाइएको छ । महोत्सव अवलोकनको लागि विद्यार्थीलाई ५०, र अन्यलाई एक सय राखिएको छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई प्रवेश निःशुल्क गरिने छ ।
महोत्सवको मुख्य प्रायोजक कृषि विकास बैंक, संरक्षक नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश, मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश सरकार र प्रवर्द्धकका रुपमा कैलाली जिल्लाका सम्पूर्ण स्थानीय तह रहेका छन् । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न मूल आयोजक समितिसहित २९ उपसमिति रहेका छन् ।




























