
अत्तरिया – कैलालीको गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेला पुस २९ गतेदेखि सुरु हुने भएको छ।
गोदावरी धाम विकास समितिले मेलाको तयारी पूरा भएको जनाएको छ। मेलामा बाह्र राशि नवग्रह, सत्ताइस नक्षत्रको स्थापना, लक्ष्य हवन, पुराण पाठ, ग्रह पूजा, भजनकिर्तन, र प्रवचन जस्ता धार्मिक क्रियाकलाप हुनेछन्।

गोदावरी धाम विकास समितिका अध्यक्ष पदम राज जोशीले २०७२ सालको महाकुम्भ मेलापछि प्रत्येक वर्ष १२ दिवसीय बाह्र राशि दर्शन मकर मेला आयोजना हुँदै आएको बताए।
उनले यस मेलालाई “लघु कुम्भ” का रूपमा व्याख्या गर्दै, कुम्भ मेला एक महिनाभन्दा बढी समयको हुने भए पनि यो मेला बाह्र दिनसम्म रहने जानकारी गराए।
मेलाको समुद्घाटन पुस २९ गते सोमबार दिउँसो १ बजे प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने कार्यक्रम तय भएको छ। धाममा २०८४ मा महाकुम्भ लाग्नेछ ।
















