
अत्तरिया – कैलालीको अत्तरियामा कोल्ड स्टोर (चिस्यान केन्द्र) अलपत्र परेको छ । निर्माणको काम सम्पन्न भएको ७ महिना बितिसक्दा पनि कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन । गोदावरी नगरपालिका वडा नम्बर-१ स्थीत अत्तरियामा रहेको कृषि उपज थोक बजारमा निर्माण सुरु गरिएको कोल्ड स्टोरको काम गत भदौमा सम्पन्न भइसकेको बजारका अध्यक्ष नन्दलाल भट्टले बताएका छन् ।
उनका अनुसार कोल्ड स्टोरमा आवश्यक सबै उपकरणहरु जडान भइसकेका छन् । यद्यपी प्रदेश सरकारले समितिलाई हस्तान्तरण भने गरेको छैन । कोल्ड स्टोर माघदेखी सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि प्रदेश सरकारले हस्तान्तरण नगर्दा सञ्चालन गर्न नसकिएको भट्टले बताएका छन् । कृषि बजारले माघदेखी सुन्तला,आलु लगायतका तरकारी र फलफूललाई लक्षित गरि सञ्चालनको तयारी गरेको भएपनि हस्तान्तरण नहुँदा अलपत्र परेको उनको भनाई छ ।

३५० मेट्रिक टन क्षमताको उत्त कोल्ड स्टोरको २०७४ सालमा तत्कालीन माओवादी नेता लेखराज भट्टले शिलान्यास गरेका थिए । शिलान्यासको समयमा कोल्ड स्टोरको क्षमता ३५० मेट्रिक टन भनिए पनि भित्र खण्डीकरण गरेर निर्माण गर्दा क्षमता ३२५ मेट्रिक टनमा झरेको अध्यक्ष भट्टले बताए । अढाई करोडमा निर्माण भएको कोल्ड स्टोरमा तीनै तहका सरकार र कृषि उपज थोक बजारको पनि लगानि रहेको छ ।
उत्त कोल्ड स्टोर २०७५ सालमा निर्माण सम्पन्न गर्ने भनि पहिलो ठेक्का भएको भए पनि विभिन्न निर्माण कम्पनीहरुले बाहनामा झण्डै ६ वर्षपछी निर्माण सकेका हुन् ।अत्तरिया क्षेत्रमा कोल्ड स्टोर नहुँदा यहाँका तरकारी उत्पादन गर्ने किसान तथा व्यवसायीहरुले वर्षेनी नोक्सानी बेर्होदै आइरहेका छन् । कृषि विकास निर्देशनालयका निर्देशक खगेन्द्र प्रसाद शर्मा समय नमिल्दा हस्तान्तरण गर्न नसकिएको बताउँछन् ।
समय मिलाएर हस्तान्तरण गर्ने गरि सञ्चालन ल्याउन समितिलाई आग्रह गरेको भएपनि विभिन्न बाहनामा समितिले सञ्चालन नगरेको उनको भनाई छ । “हामीले हस्तान्तरण पछि गरौँला तपाईँहरु पूर्णरुपमा नभएपनि आंशिकरुपमा सञ्चालन गर्दै गर्नुस भनेका हौँ,तर उहाँहरु कहिले छाना चुहिने छ भन्नुहुन्छ,कहिले हस्तान्तरण भएपछि मात्रै सञ्चालन गर्छौ भन्नुहुन्छ उनले भने, धेरै ठाँउका कोल्डस्टोरहरु आंशिकरुपमा सञ्चालनमा आएका छन् ।”
“नट बोल्डहरु नमिलेर छाना चुहिने भएको हुनसक्छ,त्यो थोरै रकमको कुरा हो,त्यसमा समितिले आफै लगानि गरेर वा विभिन्न तहका सरकारसंग सहयोग मागेर भएपनि समितिले चाहेको खण्डमा सञ्चालनमा ल्याउन सक्थ्यो तर समितिले बाहना बनाईरहेको छ शर्माले भने उहाँहरु आएर मन्त्री,मुख्यमन्त्री कस्ले हस्तान्तरण गर्ने हो समय लिएर जाने हो भने त्यो ठुलो कुरै होईन ।”
मौसम अनुसार बढी उपलब्ध हुने फलफूल तथा तरकारीहरू कोल्ड स्टोरमा भण्डारण गरी बेमौसममा बिक्री गर्दा बढी मूल्य पाउने हुँदा उत्पादक कृषकहरूलाई बढी फाइदा हुने तथा बजारमा निरन्तर रूपमा उपलब्ध हुन सक्दछ । चिस्यान केन्द्रको अभावमा उत्पादित कृषि सामग्री बर्सेनि कम मूल्यमा बेच्न किसान बाध्य छन् ।














