अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१ मा नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि बिहिबार दिनदहाडै खुकुरी प्रहार भएको छ ।
बिहान आज करिब ११ बजेको समयमा विद्युत प्राधिकरण अत्तरिया नोलाइटका प्राविधिक सुन्दरलाल चौधरीमाथि कार्यालय परिसरमै खुकुरी प्रहार भएको हो ।
मोटरसाइलमा आएको ६ जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेको हो । चौधरीलाई अत्तरियाको पदमा अस्पताल,धनगढीको मायामेट्रो अस्पताल,सेती प्रादेशिक अस्पताल हुँदै बेलुकी ६ बजेको उडानमार्फत काठमाडौं लगिएको छ ।
के थियो घटना?
बिहिबार करिब ११ बजेको समयमा चौधरी,सहायक लेखापाल रामनारायण राना, प्राविधिक मोहन सार्की,कार्यालयका सुरक्षा गार्ड शेर बहादुर बोहरासहित चारजना कर्मचारी गेटको बाहिरपट्टिको सडक छेउमा बसिरहेका थिए ।
इन्र्चाज सुनिल खड्का पनि अलि पर उभिइरहेका थिए । कार्यालयको आगन साँघुरो हुँदा घाम छेकिने भएकोले काम नभएको समयमा कर्मचारीहरु गेट बाहिरै बस्ने गर्छन् । गेटभित्र दुईतीनजना सेवाग्राहि पनि थिए,बिहानैको समय भएकोले धेरै भिडभाड थिएन ।
कार्यालयको टेलिफोनमा घण्टी बजेपछि सुरक्षा गार्ड बोहरा फोन उठाउनभन्दै गेट भित्र पसे । त्यहि समयमा तीनवटा मोटरसाइकलमा ६ जना आए । पछाडी बसेका तीन जना ओर्लिए,चालकहरुले मोटरसाइकल स्र्टाटमै राखे । ओर्लिएकाहरुले जकेटभित्रबाट खुकुरी निकाले र बिचमा बसेका चौधरीलाई हान्नथाले । प्रहारपछि चौधरीको टाउकोको केहि भाग कपालसहित सडकमा खसेको थियो ।
छेउमा बसेका दुईजना ए ,,ए के गरेको भन्दै टाउको छोपेर भाग्न थाले । त्यतिबेलासम्म चौधरी रगताम्मे भइसकेका थिए । सडकमा चौधरीको रगत जताततै देख्न सकिन्छ । हेर्दाहेर्दै खुकुरी हान्ने समूह मोटरसाइकलमा गइसकेको थियो । करिब १० देखि १५ सेकेण्डको अवधीमा घटना घटाएर समूह फरार भइसकेको प्रत्यक्षदर्शी सार्की बताउँछन् । त्यसपछि उनीहरुले चौधरीलाई अत्तरियाकै पदमा अस्पतालमा लगेका थिए ।
कर्मचारी भयभीत
घटनापछि विद्युत अत्तरियाका कर्मचारी भयभीत भएका छन् । कार्यालय परिसरमै फिल्मी शैलीमासहकर्मीमाथि खुकुरी प्रहार भएपछि उनीहरु त्रसित देखिएका छन् । जकेटबाट तरबारजस्तो देखिने ठुलो खुकुरी निकालेर अन्तिम चोट प्रहार गरेको देखेका सुरक्षा गार्ड बोहरा अबदेखि कसरी काम गर्ने भन्ने सोच्न सकिरहेका छैनन् । “बाख्रा मारेजस्तो मान्छेमाथि हतियार प्रहार हुनथाल्यो,यसरी यो समाज कहाँ पुग्ला,बोहरा भन्छन् अब काम गर्न गाह्रो भयो ।”
अत्तरिया नोलाइटका ईन्चार्ज खड्का सुरक्षा चुनौती थपिएको बताउँछन् । “घटना के कारणले घटेको त्यो अनुसन्धान प्रहरीले गर्ला तर हामी कर्मचारीलाई त यहाँ बसेर काम गर्न गाह्रो नै भइसक्यो, उनले भने ।” केहि दिनअघि बत्ति किन गयो? भन्दै एक व्यक्तिले रातीको समयमा चौधरीलाई फोन गरेको र त्यहि विषयलाई लिएर चौधरीमाथि खुकुरी प्रहार भएको हुनसक्ने बताइएको छ ।
घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले भने घटनाको गम्भीररुपमा अनुसन्धान भइरहेको बताएका छन् । दिनदहाडै तीनजनाको बिचमा बसेको व्यक्तिमाथि भएको खुकुरी प्रहारको घटनापछि यस क्षेत्रमा सुरक्षा चुनौती थपिएको छ ।