अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका- ४ का नवराज ओझा अहिले चैते धान रोप्न व्यस्त छन् । गर्मी मौसममा ओझाको परिवार बोरिङको पानीले रोपाइँ गरिरहेका छन् ।
चार वर्षदेखि चैते धान खेती गर्दै आएका ओझाले गत वर्ष करिब २ बिघामा चैते धान रोपेका थिए । यस वर्ष भने उनले १० कठ्ठामा मात्रै चैते धान रोपेका छन् ।
असारमा रोपिने धान भन्दा चैतमा रोपिने धानबाट किसानलाई बढी फाइदा हुने उनको अनुभव छ । आफुले १ हेक्टरमा ६० देखि ७० क्विन्टल सम्म धान फलाएको ओझाले बताए ।
“असारमा रोपिने धान भन्दा अहिले रोपिने धान बढी फल्छ,उनले भने सिँचाइको लागि भने अलि समस्या हुन्छ ।” अहिले रोपिएको धान असारको पहिलो सातातिर पाक्ने गरेको उनी बताउँछन् ।
कृष्णपुर नगरपालिकामा गत वर्ष २० हेक्टर जमिनमा चैते धान खेती गरिएकोमा यो वर्ष ३० हेक्टरसम्म पुग्ने अनुमान गरिएको कृष्णपुर नगरपालिकाका कृषि शाखा प्रमुख लाल बहादुर धामीले बताए ।
धामीका अनुसार गत वर्ष प्रति हेक्टर ४ मेट्रिक टन धान उत्पादन भएको थियो । चैते धान खेतीमा किसानको आकर्षण बढाउन नगरपालिकाले हरेक वर्ष अनुदानमा बिउ वितरण गर्दै आएको छ ।
कृष्णपुर नगरपालिकाले चैते धान मात्र नभई कृषिमा अत्याधिक मात्रामा प्रयोग हुँदै आएको रासायनिक मल प्रतिस्थापन गर्न किसानलाई ढैँचा उमार्न पनि आकर्षित गर्दै आएको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्म साउँदले कञ्चनपुरमा १५० हेक्टर क्षेतफलमा चैते धान खेती हुँदै आएको बताए । जिल्लाका पुर्नवास,बेलडाँडी,भिमदत्त लगायतका पालिकाका केहि स्थानमा खेती हुने साउँदको भनाई छ ।
किसानलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्र कञ्चनपुरले सिँचाइ, बीउ, यान्त्रिकिकरण लगायतमा ५० प्रतिशत अनुदान दिने गरेको उनले बताए । वर्षमा दुई बाली धान खेती गर्ने किसानले एक बाली गहुँ,मसुरो वा तोरीखेती समेत गर्ने गरेका छन् ।
छिमेकी गोदावरीमा छैन सुरसार
कृष्णपुर नगरपालिकाले बेमौसमी खेतीका रूपमा रोपिने चैते धानबाट वर्षेनी प्रति हेक्टर ४ मेट्रिक टन धान उत्पादन गरिरहँदा छिमेकी पालिका कैलालीको गोदावरी नगरपालिकामा भने चैते धान खेतीको सुरसार देखिदैन ।
गोदावरी नगरपालिकाकी कृषि शाखा प्रमुख नन्दी मल्ल गोदावरी नगरपालिकामा चैते धान खेती गरिएको बारे आफुलाई जानकारी नभएको बताउँछिन् ।
चैते धान खेती प्रवर्धनका लागि पालिकाका तर्फबाट कुनै प्रयास गर्न नसकिएको उनको भनाई छ । गत वर्ष चैते धान प्रवर्धनका लागि वार्षिक कार्यक्रममा प्रस्ताव पठाएकोमा स्वीकृत नभएको उनले बताइन् ।
“बजेट अभावका कारण चैते धान खेती प्रवर्धन गर्न नसकिएको भन्दै उनले भनिन्, किसानले पनि खासै रुचि राखेको देखिँदैन, त्यसैले पनि हाम्रो पालिकामा यो खेती ओझेलमा परेको हो ।”