
अत्तरिया – नेपाल पत्रकार महासंघ कैलाली शाखाले धनगढीमा विरोध प्रदर्शन गरेको छ ।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको र सञ्चारगृहमा गरिएको आगजनी विरुद्ध शनिबार बिहान धनगढीमा महासंघ कैलालीले विरोध प्रदर्शन गरेको हो ।

नेपाल पत्रकार महासङ्घले शनिवार ७० औँ स्थापना दिवस मनाउने कार्यक्रम रहेको थियो । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो ।
कैलालीको धनगढी, सुखड, टीकापुर लगायतका क्षेत्रहरूमा पनि पत्रकार महासङ्घको आयोजनामा विरोध भएको छ ।
धनगढीमा र्यालीपछि आयोजित कोण सभालाई महासंघका कैलाली अध्यक्ष श्रवण देउवा,प्रदेश अध्यक्ष भरत शाह, पेशागत संगठनका प्रतिनिधिहरु तथा इन्सेकका सुदूरपश्चिम प्रदेश प्रमुख खडकराज जोशी लगायतले सम्बोधन गरेका थिए ।
उनीहरुले प्रेस स्वतन्त्राको रक्षा गर्न सरकारसंग माग गर्दै कुनै पनि नाममा प्रेसमाथि हुने हमला स्वीकार्य नहुने बताएका छन् ।






























