प्रहरी कार्यालयकै अगाडि पुरुषको बीभत्स हत्या, सुरक्षामाथि गम्भीर प्रश्न

Image

अत्तरिया – कैलालीको अत्तरियामा १ पुरुष मृत फेला परेका छन् । अत्तरिया चौराहमा रहेको दुर्गा मन्दिर परिसरमा मृत फेला परेका अन्दाजी ३५/४० वर्षका देखिने ति पुरुषको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय मालाखेती (इप्रका मालाखेती) का प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताएका छन् ।

उनका अनुसार शव हत्या गरेर फालेको जस्तो देखिन्छ । मृत फेला परेका पुरुषको टाउकोको बाँया भाग र अनुहारमा गम्भीर चोट देखिएको छ । घाउ र रगतले क्षतविक्षत अनुहार चिन्न नै नसकिने अवस्थामा रहेको छ ।

nisarga

घटनास्थल दुर्गा मन्दिर परिसर इलाका प्रहरी कार्यालय मालाखेतीको ठिक विपरीत दिशामा छ । प्रहरी कार्यालय र घटनास्थलको दुरी करिब १०० मिटर छ अर्थात प्रहरी कार्यालय र घटनास्थल सडकको वारीपारी छन् ।

इप्रका मालाखेतीको गेटमा पनि नियमित ड्युटी हुन्छ । तर बुधबार (आज) बिहान साढे ६ बजेको समयमा साना किसान कृषि सहकारी संस्था लिमिटेड गेटाका सुरक्षा गार्डले शव देखेपछि पतन्जली योग समितको भवनबाट योग गरेर बाहिरीदै गरेका सदस्यहरुलाई जानकारी गराए ।

उनीहरुले दुर्गा मन्दिरका पूजारीलाई जानकारी गराए । मन्दिरको मुख्य गेटतिर सरसफाइ गरिरहेका पूजारी टीकादत्त पनेरुले रगतले लतपतिएको अवस्थामा मन्दिरको पछाडीको बरन्डा देखे । रगताम्मे देखिएको उक्त बरन्डाबाट घिसार्दै शव बाहिरसम्म लगेर फालिएको थियो ।

यो पनि :

अत्तरियामा विद्युतका कर्मचारीमाथि दिनदहाडै फिल्मी शैलीमा खुकुरी प्रहार, सुरक्षा चुनौती थपियो

त्यसको केहि बेरमा प्रहरीसम्म सूचना पुगेपछि इप्रका मालाखेतीको टोली घटनास्थल पुग्यो । आफ्नै कार्यालय अगाडि पनि सुरक्षा दिन नसकेको भन्दै अहिले स्थानीयले इप्रका मालाखेतीमाथि प्रश्न उठाइरहेका छन् ।

अत्तरियाका स्थानीय दुर्गा प्रसाईले प्रहरी कार्यालयकै अगाडि मानिसको बीभत्स हत्या हुनु चानचुने कुरा नभएको बताए । “इप्रका मालाखेतीको गेटबाट दुर्गा मन्दिरको गेट प्रष्ट देखिन्छ, गेटमा ड्युटीमा भएको प्रहरीले त थाहा पाउनुपर्ने हो, उनले भने, तर बिहान अरुले खबर गरेपछि मात्रै प्रहरी आयो, यो चानचुने विषय होईन,यस क्षेत्रमा सुरक्षा चुनौती थपिएको छ ।”

प्रहरी राती १० बजे व्यापारीका सटर बन्द गराउनमै अल्झिएको स्थानीयको गुनासो छ । अत्तरियाकै व्यवसायी लक्ष्मण कठायतले “आफ्नै कार्यालय अगाडि व्यक्तिको हत्या हुँदा थाहा नपाउने प्रहरीले कसरी सुरक्षा दिन्छ?” भन्दै प्रश्न गरे ।

उनले प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नु भन्दा पनि बर्दी लगाएर घुम्ने काम मात्रै गरिरहेको बताए । अत्तरियाकै स्थानीय सावित्रा घिमिरेले सर्वसाधारणलाई र्याकर्याक गर्ने प्रहरीले अपराधका घटना भने न्युनिकरण गर्न नसकेको बताइन् ।

फेला परेको शव पोस्मार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको थापाले बताएका छन् । गत फागुन २२ गते मात्रै गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको नेपाल विद्युत प्राधिकरणको नोलाइट अत्तरियाका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार भएको थियो ।