
अत्तरिया – सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाले सहकारीहरु उत्पादनसंग जोडिनु आवश्यक रहेको बताएकी छिन् ।
शुक्रबार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्याउलेमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरको २८ औं वार्षिक उत्सवमा कार्यक्रममा बोल्दै देवकोटाले सहकारीहरु उत्पादनसंग जोडिनु आवश्यक रहेको बताएकी हुन् ।

पछिल्लो समय कैलाली लगायत देशैभर सहकारी खुल्ने क्रम बढेको हुँदा कारोबारसंग मात्रै नभइ उत्पादनसंग जोडिनु आवश्यक भएको उनको भनाई थियो । धेरै सहकारीहरुले गरेका गतिविधीहरु उपलब्धिमूलक भए पनि केहि भने नाम मात्रैका भएको र शेयर सदस्यहरुलाई जानकारी नै नगरी आफूलाई फाइदा हुने काम मात्रै गरिरहेको देवकोटाले बताइन् ।
“धेरै सहकारीहरुले उपलब्धिमूलक कामहरु गरिरहेका छन्, तर केहिले भने सदस्यहरुलाई जानकारी नै नगरी आफूलाई फाइदा हुने गतिविधी गरिरहेका कारण सबै सहकारीहरु बदनाम भइरहेका छन्” उनले भनिन् । देवकोटाले पछिल्लो समय प्रविधिको समय भएकोले सहकारीहरु प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिइन् ।
सदस्यले घरमै बसेर आफ्नो कारोबारबारे जानकारी पाउने गरि प्रविधि जडान गर्न पनि उनले सहकारीलाई आग्रह गरिन् । सहकारी क्षेत्रलाई मजबुत र विश्वासिलो बनाउनु सबैको दाईत्व भएको देवकोटाले बताइन् । त्यस्तै कार्यक्रममा बोल्दै साना किसान कृषि सहकारी संस्था लिमिटेड श्रीपुरका अध्यक्ष केशवराज बिनाडीले साना किसानलाई विश्वास गर्न सबैलाई आग्रह गरे ।
उनले सहकारीका कर्मचारी र सञ्चालक इमान्दार भए सबैले विश्वास गर्ने पनि बताए । उनले भने, “सहकारीका कर्मचारीले आफ्नो क्षेत्रबाट, सञ्चालकले आफ्नो क्षेत्रबाट र शेयर सदस्यहरुले पनि आफ्नो क्षेत्रबाट इमान्दारीतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्दछ । केहि सहकारीले गरेको बेइमानीको जिम्मेवारी साना किसानले लिन सक्दैन ।”
साना किसान श्रीपुरमा वैशाखबाट इबैंकिङ प्रणाली लागू हुने र एसएमएस प्रणाली लागू भइसकोले उपयोग गर्न सदस्यहरुलाई आग्रह गरे । दुध उत्पादनका लागि जिल्ला पशु भेटरिनरीसंग समन्वय गरि कार्यक्रम अगाडी बढाउने तयारी गरिएको बिनाडीले बताए । साना किसान श्रीपुरलाई यहाँसम्म पुर्याउने सबैलाई उनले धन्यवाद व्यक्त गरे ।
संस्थाको हलमा आयोजना गरिएको वार्षिक उत्सव समारोहमा संस्थाको अन्तर समूहका अध्यक्षहरु, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, विभिन्न विषयगत समितिका प्रमुख तथा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बढी बचत गर्ने सदस्यहरु, सर्वाधिक शेयर लगानिकर्ता, ज्येष्ठ नागरिकहरुलाई सम्मानित गरिएको थियो । त्यस्तै संस्थाको नाममा केक काट्नुका साथै अन्तर समूहका अध्यक्षहरुलाई समूहमा आवश्यक पर्ने सामग्रीहरु प्रदान गरिएको थियो । वार्षिक उत्सव कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक टेकराज भट्टले गरेका थिए । ५ हजार ८ सय भन्दा बढी शेयर सदस्य रहेको यस संस्थाले तीन वटा सेवा केन्द्र मार्फत सेवा दिँदै आएको छ ।