
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १ को कार्यालय नजिक अत्तरियामा निर्मित कृषि तथा पशुपंछी सेवाको भवन गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमका बिच नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तरगत ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना रिडका निर्देशक चन्द्र प्रसाद रिसालले गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टलाई भवनको चाबी हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले कृषि तथा पशु सेवा केन्द्रको भवनबाट कृषकहरुले सुलभ तथा सहज तरिकाले सेवा पाउने विश्वास व्यक्त गरे । भट्टले नगरपालिकामा अधिकांश कृषिमा संलग्न किसान रहेका कारण भवन निर्माणले उनीहरूका काम कारबाहीमा सहजता ल्याउने बताए ।

उनले नगरपालिका किसानहरूको हक हितमा निरन्तर क्रियाशील रहेको उल्लेख गरे। साथै, किसानहरूको परिचय पत्र वितरणमा पनि नगरपालिका अग्रस्थानमा रहेको उनले जानकारी दिए । मूल्य अभिवृद्धी कर बाहेक २ करोड ४२ लाख ३० हजार रुपैँया लागतमा भवन निर्माण सम्पन्न भएको आयोजनाका निर्देशक रिसालले जानकारी दिए ।
सम्बन्धित समाचार
गोदावरीमा कृषि तथा पशु सेवा केन्द्रको भवन शिलान्यास
उनले उक्त भवनमा कृषि तथा पशुपंक्षीका विशिष्ट सेवा प्रदान गर्न प्रयोगशाला (ल्याब) सुविधा समेत उपलब्ध गराइएको बताए । भवन सञ्चालनपछि गोदावरी नगरपालिका अन्तर्गत कृषि तथा पशुपंक्षी सेवा शाखाले यही भवनबाट सेवा दिनेछ। साथै, मरेका पशुपंक्षीहरूलाई सुरक्षित रुपमा नष्ट गरी रोग फैलिन नदिनेसम्मको सुविधा समेत केन्द्रमा उपलब्ध गराइनेछ। उक्त २ तले भवनको २०८० भदौ १३ गते नगरप्रमुख भट्टले शिलान्यास गरेका थिए ।
विश्व बैंकको सहयोगमा बनेको भवनको ठेक्का २ करोड ६ लाख ८५ हजारमा सिनर्जि प्रालिले लिएको थियो । २०८१ असारमा काम सम्पन्न हुने गरि २०८० असार मसान्तमा सम्झौता गरेको थियो । ग्रामीण उद्यम तथा आर्थिक विकास कार्यालय डडेल्धुराका निर्देशक रिसालले महाकाली कोरिडोरले छुने पालिकामा उक्त भवनको निर्माण गरिएको बताए । उनले कैलालीको गोदावरी र चुरे गाँउपालिका सहित सुदूरपश्चिमका १० ओटा ठाउँमा भवन निर्माण गरिएको बताएका छन् ।।














