नेपालमा भारत–पाकिस्तान युद्धको सम्भावित असर

Image
maya metro

बम बहादुर बोगटी

दक्षिण एशियाको दुई परमाणु शक्तिराष्ट्र भारत र पाकिस्तानबीच कुनैपनि युद्धको स्थिति सिर्जना हुनु केवल उनीहरूबीचको विषय मात्र रहँदैन, यो सम्पूर्ण क्षेत्रको शान्ति, स्थायित्व र विकासमा गहिरो असर पार्ने घटना हुन्छ। विशेषगरी भारतसँग साना मुलुकहरूको भौगोलिक, आर्थिक, धार्मिक र सामाजिक सम्बन्ध रहेका कारण नेपालमा त्यसको प्रभाव प्रत्यक्ष देखिन्छ।

nisarga

भारत–पाकिस्तान युद्धको असर नेपालमा खाद्यान्न संकट, दैनिकी सामानको अभाव, रोजगारीको अवसर गुम्ने, स्वास्थ्य उपचारमा अवरोध, धार्मिक तनावको वृद्धि, कूटनीतिक सम्बन्धमा चिसोपन, र आर्थिक सहयोगमा कमी भएर देखिन सक्छ।

नेपालको बजार भारतबाट आयात हुने सामग्रीहरूमा अत्यधिक निर्भर छ। युद्धको स्थिति आउँदा सीमामा कडाइ, यातायात अवरुद्ध, तथा आपूर्ति श्रृंखलामा समस्याले खाद्यान्न, इन्धन र अन्य उपभोग्य वस्तुहरू अभावमा पर्न सक्छन्। यसले मूल्यवृद्धि र जनजीवनमा प्रतिकूल प्रभाव पार्न सक्छ।

युद्धको असर भारतमा कार्यरत लाखौं नेपाली कामदारहरूमा पनि पर्न सक्छ। उनीहरूलाई सुरक्षाको डर, रोजगारी गुम्ने सम्भावना, अनि विभेद वा हिंसाको सिकार हुने खतरा हुन्छ। साथै, भारतमै स्वास्थ्य उपचार गर्न जाने नेपालीहरूका लागि समेत सीमा बन्द, आवत–जावतको कठिनाइ र स्वास्थ्य संस्थाहरूमा चापको कारण समस्याहरू झनै बढ्न सक्छन्।

भारत–नेपालबीचको घनिष्ठ सम्बन्धको पृष्ठभूमिमा भारतको युद्धकालीन ध्यान आफ्नै सुरक्षामा केन्द्रित हुने हुँदा नेपालप्रति हुने आर्थिक सहयोग, पूर्वाधार सहायता तथा परियोजना निर्माणहरूमा अवरोध आउन सक्छ।

युद्धमा धार्मिक पक्ष जोडिँदा भारत हिन्दु बहुल राष्ट्र भएकाले विश्वभरका मुस्लिम राष्ट्रहरूको दृष्टि हिन्दु धर्मतर्फ नकारात्मक बन्न सक्छ। यसको प्रभाव नेपालजस्तो हिन्दु र मुस्लिम दुवै धर्म मान्ने मुलुकमा सामाजिक सद्भावमा पनि पर्न सक्छ।
यस्ता परिस्थितिमा नेपालले अत्यन्त सावधानीपूर्वक आफ्नो परराष्ट्र नीति निर्धारण गर्न आवश्यक छ। न भारतको अन्ध समर्थन गर्नु उपयुक्त हुन्छ, न पाकिस्तानप्रति असन्तुलित व्यवहार। तटस्थ, शान्तिकामी र सन्तुलित धारणा राखेर नेपालले आफ्नो राष्ट्रिय हित र नागरिक सुरक्षाको संरक्षण गर्नु अत्यन्त जरुरी छ।