
अत्तरिया – सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययनका लागि बजेट विनियोजन गर्न आग्रह गरिएको छ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले आगामी आथिर्क वर्षमै चिकित्साशास्त्र अध्ययनका लागि बजेट विनियोजन गर्न आग्रह गरेको हो ।
विश्वविद्यालय विद्येयक पारित भएकोमा धन्यवाद ज्ञापन गर्दै समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरोकारवाला व्यक्तिहरुले बजेट विनियोजनका लागि आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले विद्येयक पारित गरेकोमा धन्यवाद व्यक्त गर्दै चिकित्साशास्त्र अध्ययनका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरे ।

उनले नेपाल सरकारले प्रतिनिधि सभाबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसम्मत पारित गरी जनभावनाको कदर गरेको भन्दै आफ्नो उदेश्य पूरा गर्न संघर्ष समिति अडिग भएर अघि बढ्ने बताए । विश्वविद्यालयमा आगामी आर्थिक वर्षमा चिकित्साशास्त्र सञ्चालनमा ल्याउन उनले सरकारलाई आग्रह गरे ।
त्यस्तै पूर्व सांसद डाक्टर दिपक प्रकाश भट्टले देशकै पहिलो विश्वविद्यालयको विद्येयक पारित हुनु ठुलो उपलब्धि भएको बताए । उनले अन्य कामहरु अगाडि बढाउनका लागि बजेट आवश्यक भएकोले पर्याप्त बजेट विनियोजनका गर्न सरकारलाई आग्रह गरे । त्यसका लागि सम्बन्धित सबैले सरकार र जनप्रतिनिधिहरुलाई दवाव दिनुपर्ने उनले बताए ।
त्यस्तै विश्वविद्यालयका पूर्व निर्देशक हेमराज पुजाराले चिकित्साशास्त्र सञ्चालनका लागि भौतिक पूर्वाधारहरु तयारी अवस्थामा रहेको बताए । उनले बजेट निर्माणको अन्तिम चरणमा सरकार रहेकोले बजेट विनियोजनका लागि सरकारलाई दवाव दिनुपर्ने बताए । बजेट विनियोजन र पदाधीकारी समयमा नियुत्ति नभए उदेश्य प्राप्त गर्न गाह्रो हुने उनको भनाई थियो ।
त्यस्तै पत्रकार सम्मेलनमा आफ्नो भनाई राख्दै डाक्टर नरबहादुर मौनी, डाक्टर सुरेन्द्र चन्द, प्राध्यापक जगन्नाथ जोशी, ,गेटा मेडिकल कलेजका मेसु डा. प्रमोद यादवले पनि बजेट विनियोजन र पदाधीकारी नियुत्ती तुरुन्तै गर्नुपर्ने बताए ।
५० शैयाको अस्पतालले मात्रै विश्वविद्यालयको उदेश्य परिपुर्ति गर्न नसक्ने उनीहरुको भनाई थियो । विधेयक पारितको स्वागत गर्दै उनीहरुले आउँदो शैक्षिक सत्रबाट चिकित्साशास्त्र एमबीबीएस अध्ययनको वातावरण तयार भएमात्र सुदूरपश्चिमबासीको उदेश्य पूरा हुने बताएका छन् ।













