क्यामरामा भविष्य खोज्ने प्रयास

Image
दुलहा,दुलहीको फोटो खिच्दै प्रशिक्षार्थी यसोदा साउँद । तस्विर : थ्रिडिभीएल प्रोडक्सन
maya metro

अत्तरिया – प्रविधिको नवीनतम उपहारका रुपमा रहेको फोटो तथा भिडियोको अत्याधिक प्रयोग पछिल्लो समय निकै बढेको छ । फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले यस्को उपयोग गरिरहेका छन् । विवाह उत्सव होस वा ब्रतबन्ध । सार्वजनिक जमघट होस् वा राजनितिक दलका कार्यक्रम ।

सबै ठाँउमा क्यामेराको प्रयोग हुने गरेको छ । क्यामरा नभएका कार्यक्रमहरु खल्लो महसुस हुने गरेका छन् । क्यामराको यो बढ्दो मागका बिच महिला क्यामरा पर्सनको उपस्थिति भने करिब शुन्यजस्तै देखिन्छ । प्राय सबै ठाँउमा पुरुष नै क्यामरा पर्सनको रुपमा देखिन्छन् ।

nisarga

तर महिलालाई पनि यो क्षेत्रमा ल्याउनु पर्छ भन्ने उदेश्यले कैलालीको अत्तरियामा महिलाहरुलाई फोटो र भिडियोग्राफी तालिम प्रदान गरिएको छ । मुक्त कमैया विकास मञ्चको सहयोगमा थ्रि डिभीएल प्रोडक्सनले ९ जना महिलाहरुलाई फोटो र भिडियोग्राफी तालिम प्रदान गरेको हो । त्यहि तालिम लिइरहेकी छिन् गोदावरी- ४ की हेमा साउँद ।

क्यामरामै भविष्य खोज्ने भन्दै फोटोग्राफी तालिम लिएको उनी बताउँछिन् । सकेमा व्यवसायीक रुपमा अघि बढ्ने र नसकेमा रोजगारी भएपनि गर्ने लक्ष्य हेमाको छ । “फोटो र भिडियोग्राफी तालिमको बेसिक कुराहरु सिके, अझै धेरै सिक्न बाँकी नै छ, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्दै गरेकी उनले भनिन्, सकेसम्म आफैले प्रोडक्सन हाउस चलाउँछु, नसके जागिर भएपनि गर्छु भन्ने सोचेको छु ।”

आफूहरुलाई फोटो र भिडियोग्राफी सिकाइरहेको थ्रिडिभीएल प्रोडक्सनले तपाईहरुले आवश्यक परेको बेला क्यामेरा उपलब्ध गराउँछौँ भनेको हुँदा अझै सजिलो महसुस भइरहेको उनले बताइन् । त्यस्तै अर्की प्रशिक्षर्थी गोदावरी- ४ की निरुता बोहराले पनि फोटो र भिडियो खिच्न तथा इडिट गर्न सिकेमा बेरोजगार भएर बस्नु नपर्ने बताइन् ।

बिहेको फोटो सुटमा महिला फोटोग्राफर भए दुलहीले अझै सहज मान्ने गरेको आफूले महसुस गरेको उनी बताउँछिन् । बिहेको फोटो सुट गर्दा प्राय ठाँउमा दुलहीले महिला फोटोग्राफर छैन भनेर सोध्ने गरेको उनी बताउँछिन् । आकर्षक र गुणस्तरीय तस्वीर, भिडियो खिच्न सकेमा आम्दानी पनि राम्रो गर्न सकिने थ्रीडिभीएल प्रोडक्सनका प्रमुख दिपक ओझा बताउँछन् ।

यो क्षेत्रमा महिलालाई अगाडि ल्याउनुपर्छ भनेर नै आफूहरुले संस्थासंग समन्वय गरेर निशुल्क तालिमको आयोजना गरेको उनले बताए । यो तालिमले समाजमा सकरात्मक सन्देश पनि दिने मुक्त कमैया विकास मञ्चका उद्यम विकास अधिकृत सन्तोष पराजुली बताउँछन् । महिलाहरु परम्परागत क्षेत्रका कामहरु मात्रै गर्ने गरेको हुँदा आफूहरले अल फरकखालको तालिम सञ्चालन गर्ने गरेको उनको भनाई छ ।

“महिलाले गर्ने सिमित कामहरु छन्,घरधन्दा,कृषि,ब्युटिसियन,सिलाई कटाई जस्ता परम्परागत कामहरु मात्रै महिलाहरुले गर्ने गरेका छन्,केहि कामहरु,व्यवसायहरु यस्ता छन् जुन पुरुषले मात्रै गर्नुपर्छ भन्ने मान्यता छ । त्यसैले हामीले त्यो सोचलाई चिर्नका लागि गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता भनेर परियोजना सुरु गरेका हौँ ।” उनले भने ।