तालाबन्दी भएको आठौं दिन पनि खुलेन डीडीसी अत्तरियाको कार्यालय, प्रमुख काठमाडौंमा

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) को कार्यालयमा लाएको ताला आठौं दिन पनि यथावत रहेको छ । डीडीसी धनगढी सार्न लागिएको भन्दै स्थानीयले जेठ ८ गते कार्यालयमा ताला लगाएका थिए । गोदावरीका स्थानीयदेखि जनप्रतिनिधिहरुले नसार्न दवाव दिँदै आएका छन् ।

नसार्न दवाव दिँदै स्थानीयले दिनहुँजसो विरोधका कार्यक्रम गर्दै आएका छन् । विभिन्न चरणमा विरोधका कार्यक्रम गरिरहेका उनीहरुले बिहिबारमात्रै डीडीसीको कार्यालय अगाडिको मुख्य राजमार्गमा आधा घण्टा चक्काजाम गरेका थिए । नसार्न दवाव दिँदै लोकराज पाण्डे आगोको संयोजकत्वमा संघर्ष समिति नै गठन गरिएको छ । उनीहरुले डीडीसी अत्तरियाका प्रमुख निरन्जन भट्टराईले सार्न भूमिका खेलेको बताउँदै आएका छन् ।

nisarga

बुधबार आयोजित भेलामा प्रमुखलाई थुन्नेदेखि कालोमोसो दल्ने विषयहरु उठेका थिए । अत्तरियामा स्थान अभाव भएको, बिक्रिमा समस्या भएकोजस्ता गलत रिपोटिङ केन्द्रिय कार्यालयमा गरेर सार्न भूमिका खेलेको आरोप उनीमाथि लगाइएको छ । वनको जग्गा प्राप्तीमा झमेला हुने भएकोले सरकारी जग्गा नै उपलब्ध गराउने गरि डीडीसीलाई जेठ ९ गते नै पत्राचार गरिसकेको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले बताएका छन् ।

कार्यालयमा ८ दिनदेखि तालाबन्दी भइरहँदा प्रमुख भट्टराई भने काठमाडौंमा छन् । उनले आफू कार्यालयकै काममा काठमाडौं आएको बताए । जिल्ला प्रशासन कार्यालय र डीडीसीको केन्द्रिय कार्यालयलाई जानकारी गराएर आफू कार्यालयकै काममा काठमाडौंमा रहेको उनले बताए । भट्टराईले जेठ ११ गते आफूले नगरपालिकाको पत्र प्राप्त गरेको र केन्द्रिय कार्यालयमा पठाएको बताएका छन् ।

सार्ने नसार्ने कुरा मेरो अधिकार क्षेत्रभित्र पर्दैन

प्रमुख भट्टराई कार्यालय सार्ने, नसार्ने कुरा आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने बताएका छन् । डेढ वर्ष अघि अत्तरिया प्रमुख भएर आइसकेपछि केन्द्रिय कार्यालयको निर्देशन अनुसार आफूले जग्गाप्राप्ती गर्न सुरु गरेको उनले बताए । पहिलो प्राथमिकतामा गोदावरी लाई नै राखेर आवश्यक जग्गा उपलब्ध गराईदिन आग्रह गर्दै २०८० फाल्गुन २ गते पत्राचार गरेको उनले बताए ।

गोदावरी नगरपालिकाले सामुदायिक वनको जग्गा देखाएको तर त्यो जग्गा प्राप्तीमा कठिनाई हुने भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई पनि आग्रह गरिएको उनले बताए । कृष्णपुरले पनि सामुदायिक वनकै जग्गा देखाएपछि आफु धनगढी गएको उनको भनाई छ ।

“मैले आवश्यक जग्गा उपलब्ध गराईदिन आग्रह गर्दै २०८० फाल्गुन २ गते गोदावरी नगरपालिकालाई पत्राचार गरेको छु, उनले भने उहाँहरुले सामुदायिक वनको जग्गा देखाउनु पनि भएको थियो तर त्यो जग्गा प्राप्तीमा कठिनाई हुने भएपछि कृष्णपुरलाई भने त्यहाँ पनि त्यहि भएपछि धनगढीसंग कुरा राख्यौं र उहाँहरुले व्यवस्थापन गरिदिनु भएको हो ।” भट्टराईले भने ।

धनगढीमा संरचनासहितको स्थान पाएको हुँदा डीडीसीलाई पनि सहज भएको उनले बताए । अहिले खर्च गरेर संरचना निर्माण गर्न सक्ने अवस्थामा डीडीसी नरहेको उनको भनाई छ । शाखा कार्यालय प्रमुखले केन्द्रिय कार्यालयको निर्णय मान्ने र आफूले पनि त्यहि गरेको उनको भनाई छ । कारखाना सार्ने तर संकलन केन्द्र भने अत्तरियामै रहने उनको भनाई छ ।

प्रशासनिक काममा बाधा

कार्यालयमा ८ दिनदेखि तालाबनदी हुँदा प्रशासनिक काममा बाधा आएको उनले बताएका छन् । “बिक्रि वितरणको काम त भइरहेको छ, उनले भने तर प्रशासनि काममा भने बाधा आएको छ ।”

के गर्छ संर्घष समिति?

डीडीसी सार्ने निर्णय खारेज नहुँदासम्म आफूहरुको विरोध जारी रहेने संर्घष समितिका संयोजक पाण्डे बताउँछन् । “जबसम्म सार्ने निर्णय खारेज गरेर अत्तरियामै डीडीसी राख्ने गरि हामीसंग बचनवद्ध हुँदैन तबसम्म हामी कुनै न कुनै रुपमा विरोध जनाईरहन्छौँ ।” पाण्डेले भने ।

सम्बन्धित समाचार

अत्तरियामा डीडीसी प्रकरण : भेलामा उठ्यो हाकिमलाई थुन्नेदेखि कालोमोसो दल्ने विषय