धनगढीमा विषादीयुक्त आँप नष्ट

Image
maya metro

धनगढी – धनगढीमा दुई हजार २६० किलोग्राम आँप नष्ट गरिएको छ।

आइतवार गरिएको परीक्षणमा धनगढीस्थित सहिद गेट कृषि उपज थोक बजारमा रहेको जय श्री मा जानकी स्टोरमा राखिएको आँप नष्ट गरिएको हो। सन्जित साहको उक्त स्टोरबाट विषादीको मात्रा अत्यधिक रहेको अखाद्य आँप नष्ट गरिएको धनगढी उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले बताए।

nisarga

आइतवार धनगढीका थोक बजार तथा मण्डीबाट तरकारी तथा फलफूलका १५ नमुना संकलन गरी विषादीको अवशेष परीक्षण गरिएको हो उनले भने,भिन्डी, काँक्रो टमाटर, करेला, केरा, अङ्गुर,स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकोमा आँपमा विषादीको मात्रा बढी देखिएको र उक्त खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको हो।

धनगढी उपमहानगरपालिकाको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र विषादी अवशे ष द्रुत विश्लेषण प्रयोगशाला अत्तरिया, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पत्रकार महासङ्घ तथा सरोकारवालाहरूको संयुक्त अनुगमनमा सहिद गेट कृषि उपज थोकबजार, दक्षिणकाली मार्ग सब्जीमन्डी र धनगढी चौराहास्थित हाट बजारबाट तरकारी तथा फलफूलका नमुना संकलन गरी परीक्षण गरिएको हो।

आइतवार गरिएको द्रुत परीक्षणको क्रममा भारतबाट आयात गरिएका फलफूल मध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले बताए। उनले अन्य तरकारी र फलफूलमा विषादीको अवशेष सामान्य रहेको भए पनि आँपमा विषादीको मात्रा उच्च भएकाले खान अयोग्य ठहर गरि धनगढी उपमहानगरपालिकाले उक्त आँप नष्ट गरेको बताए।