कृषि ज्ञान केन्द्र कैलालीले मनायो विश्व वातावरण दिवस

Image
maya metro

अत्तरिया – कृषि ज्ञान केन्द्र कैलालीले विश्व वातावरण दिवस मनाएको छ । केन्द्रले अत्तरियामा एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकसहित नेपालमा यो दिवस मनाइँदै छ ।

सोहि अनुरुप जिल्ला समन्वय समितिकी प्रमुख टिका कुमारी चौधरी भुलको प्रमुख आतिथ्यता तथा कृषि थोक बजारका अध्यक्ष डिल्लीराज जोशीको सभाध्यक्षतामा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।

nisarga

कार्यक्रममा बोल्दै भूलले प्रदूषणको मुख्य कारण प्लास्टिक भएकोले न्यूनिकरण आवश्यक रहेको बताइन् । उनले कार्यक्रममा मात्रै सिमित नराखी व्यवहारमा उतार्नु पर्ने बताइन् ।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर विष्टले प्लास्टिकजन्य पदार्थको अत्यधिक प्रयोगले वातावरण, माटो, पानी र मानव स्वास्थ्यमा पार्ने गम्भीर असरबारे प्रष्ट पारे। उनले दीगो समाधानका लागि सबै तहबाट सहकार्यको आवश्यकता रहेको बताए ।

त्यस्तै गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता गोपालदत्त भट्टले प्लास्टिक न्यूनिकरण चुनौतीपूर्ण रहेको बताए । बजारका अध्यक्ष डिल्लीराज जोशीले प्लास्टिक न्यूनिकरणमा सबैको दायित्व समान रहेको बताए ।

संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।

राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा बिसर्जन हुने गरेको छ ।