
अत्तरिया – कैलालीको अत्तरियामा २०७८ सालमा सञ्चालन गरिएको ‘हाम्रो गोदावरी हाम्रो अभियानको आयव्यय सार्वजनिक गरिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानका संयोजक प्रमोद अधिकारीले आयव्यय सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले अभियानबाट पहिलो चरणको कनसन्ट्रेटर हस्तान्तरण पछि २१ लाख ३० हजार २५८ रुपिँया बचेको र १ लाख ६ हजार ३६६ रुपिँया बैंक ब्याजबाट पनि आम्दानी भएको बताए । ।

यसरी जम्मा २२ लाख ३६ हजार ६२४ रुपिँया मध्य बाट शल्यक्रिया कक्ष स्थापना गरि बचेको रकमबाट अस्पतालको आवश्यकता अनुसार सामग्री खरिद गरेको उनले बताए । उक्त रकममा ३१ हजार उठ्न बाँकी रहेको अधिकारीले बताए । अभियानबाट संकलित रकमले डेढ वर्ष अघि नै शल्यक्रिया कक्ष स्थापना गरिएको र पैसा बाँकी रहेकोले आवश्यकता अनुसार अन्य सामग्री खरिद गर्नुपर्ने भएको हुँदा आयव्यय सार्वजनिक तथा अस्पताललाई हस्तान्तरणमा ढिलाई भएको अधिकारीले बताए ।
करिब १ महिना अघि मात्रै आफूहरुले अन्तिमपटक आवश्यक सामग्री खरिद गरेको उनले बताए । उत्त अभियानका क्रममा गरिएको आयव्ययका सम्पूर्ण कागजातहरु संयोजक अधिकारीले सम्मेलनमै मालाखेती अस्पतालका अध्यक्ष डाक्टर नर बहादुर मौनीलाई हस्तान्तरण गरेका छन् ।
करिब ४ वर्षअघि दोस्रो चरणको कोरोना महामारी फैलिएको समयमा अत्तरियाका १३ जना युवा व्यवसायीहरुले मिलेर ‘हाम्रो गोदावरी हाम्रो अभियान’ नामक अभियान सुरु गरेका थिए । मालाखेती अस्पतालमा अक्सिजन लगायत परिक्षण किटहरु समेत अभाव भइरहेको बेला सुरु भएको यो अभियानमा दाताहरुले स्वस्फुर्त सहयोग गरेका थिए ।
अधिकारी संयोजक रहेको उक्त अभियानमा कमल कडायत, विर बहादुर कडायत, पुस्कर शर्मा (जोशी), विनोद मल्ल (विप्लब), तेज खड्का, गणेश महरा, धर्म सिंह कुँवर, हेम भण्डारी, स्माइल चौधरी, दुर्गा अधिकारी, मिन जोशी र दिनेश बोहरा रहेका थिए ।