
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले गोदावरी–२ मा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई चार लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ। गोदावरी नगरपालिका अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले चालु आर्थिक वर्षको बजेटबाट फर्निचर, खाद्यान्न, स्टेसनरीलगायत सामग्री सहयोग गरेको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा गोदावरी नगर प्रमुख विरेन्द्र भट्टले सेभ हाउसकी अध्यक्ष जानकी मलासिलाई सामग्री हस्तान्तरण गरेका हुन ।

सेभ हाउसमा आश्रय लिएका महिला तथा बालबालिकाको दैनिक जीवन सहज बनोस् भनेर खाद्यान्न सँगै स्टेसनरी, दराज, कुर्सी, टेबल लगायतका सामग्री सहयोग गरेको नगर प्रमुख भट्टले बताए ।
भट्टले सेभ हाउसलाई व्यवस्थित आवासको आवश्यकता रहे पनि हालसम्म उपयुक्त स्थान फेला नपरेको उल्लेख गरे।
















