गोदावरीमा १५ दिने वाद्यवादन प्रशिक्षण कार्यशाला सुरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियामा १५ दिने वाद्यवादन (लोक बाजा) प्रशिक्षण कार्यशाला २०८२ को उद्घाटन गरिएको छ। कार्यक्रमको अध्यक्षता राष्ट्रिय लोक संस्कृति प्रतिष्ठानका अध्यक्ष लिला धर बास्कोटाले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट थिए भने विशेष अतिथिका रूपमा साहित्यकार देवी नेपाल, वडा नं १ का अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट, वडा नं २ का सदस्य तथा नेपाली काँग्रेस कैलाली क्षेत्र नं ४ का सभापति वसन्त रोकाया ‘ललित’, युवा नेता लोकराज पाण्डे ‘आगो’, होटल व्यवसाय संघका अध्यक्ष लक्ष्मण धामी, होटल व्यवसाय महासंघकी महिला उपाध्यक्ष धना चोखाल, र मालाखेती ईप्रका प्रमुख रण बहादुर चन्दलगायतको उपस्थिति रहेको थियो।

nisarga

गोदावरी नगरपालिका नगर प्रमुख भट्टले पछिल्लो समय मौलिक लोक संस्कृतिहरू लोप हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता प्रशिक्षण कार्यक्रमहरूलाई संस्कृतिको पुनर्जागरणका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

उनले भने, “आज हामी आधुनिकताको नाममा हाम्रा मौलिक बाजा, गीत, नाच र रीतिथितिहरू बिर्सँदै गइरहेका छौँ। नयाँ पुस्ता मोबाइल र प्रविधिमा व्यस्त छ, तर आफ्नै पहिचानमाथि उनीहरूको चासो घट्दो क्रममा छ। यस्तो अवस्थामा वाद्यवादन जस्ता परम्परागत तालिमहरूले युवापुस्तामा संस्कृति प्रतिको अभिरुचि बढाउनेछ।”

उनले सहभागिहरूलाई प्रशिक्षणको अवसरको सदुपयोग गर्दै सीप विकाससँगै समाजमा लोकसंस्कृति प्रतिको चेतना फैलाउने आग्रह समेत गरे। गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित उक्त प्रशिक्षणले सुदूरपश्चिम क्षेत्रको मौलिक सांस्कृतिक पहिचानलाई जगेर्ना गर्ने अपेक्षा गरिएको छ।