
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका- १ अत्तरियामा नव निर्मित कृषि हाट बजार सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। गोदावरी नगरपालिका र जर्मन विकास सहयोग संस्था जिआईजेड (GIZ)को संयुक्त लगानीमा झण्डै ४२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको ट्रससहितको हाटबजारको नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा नगरप्रमुख भट्टले रिबन काटेर हाटबजार सञ्चालनको घोषणा गर्दै किसानको हितमा गरिएको यो संरचना दीर्घकालीन रूपमा प्रभावकारी हुने विश्वास व्यक्त गरे।

उक्त अवसरमा पालिकाका वडा नं. ११ र १२ का २९ जना कृषकलाई नगद चेक वितरण गरिएको थियो। कृषकको खेतबारीमा लगाइएको तरकारीको आधारमा ५ हजार देखि १० हजार रुपैयाँसम्मको सहयोग स्वरूप चेक हस्तान्तरण गरिएको हो, जसले कृषकहरूमा थप उत्साह र प्रेरणा थपेको सहभागीहरूले बताएका छन्।
नगरपालिकाले हालसम्म १५ हजार किसान परिचय पत्र वितरण गरिसकेको छ। ती किसानहरूले आफ्नै उत्पादन हाटबजारमा ल्याई बिचौलिया बिना नै प्रत्यक्ष रूपमा उपभोक्तालाई बिक्री वितरण गर्न सक्नेछन्। यसले उत्पादन र उपभोगबीचको दूरी घटाउनुका साथै स्थानीय उपभोक्तालाई ताजा, विषादी मुक्त र सस्तो तरकारी प्राप्त हुने विश्वास गरिएको छ।
उप–प्रमुख शारदा देवी रोकायाले हाटबजारमार्फत स्थानीय स्तरमा सहज रूपमा ताजा र सुरक्षित तरकारी पहुँच हुने बताइन्। उनले भनिन्, “अब प्रत्येक उपभोक्ता स्वस्थ जीवनशैलीतर्फ उन्मुख हुनेछन्, र किसानको परिश्रमको उचित मूल्य पनि सुनिश्चित हुनेछ।”
नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का सभापति बसन्त रोकाया ललितले चौधरी समुदायका दिदीबहिनीहरूका लागि हाटबजार ठूलो अवसर भएको उल्लेख गर्दै घरमै तरकारी बेच्दै हिँड्नुपर्ने अवस्था अन्त्य भएको बताए। उनले गोदावरी नगरपालिकाको यो प्रयासप्रति आभार व्यक्त गरे।
कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर बिष्टले किसानलाई आत्मसम्मानका साथ कृषिमा लाग्न हाटबजारले सघाउने बताए। उनले कृषि ज्ञान केन्द्रले उत्पादन सँगै बिक्रीमा सहयोग पुर्याउन साइकल, तरकारी क्यारेट र परिचयपत्र सहितको कार्ड वितरण गर्ने तयारीमा रहेको जानकारी दिए।
गोदावरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टले हाटबजार स्थानीय उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने माध्यम भएको बताए। उनले यसले कृषकको जीवनस्तर उकास्नुका साथै उपभोक्तालाई सस्तो, ताजा र विषादीमुक्त तरकारी सहज रूपमा उपलब्ध गराउने स्पष्ट गरे। वडा अध्यक्ष भट्टका अनुसार हाटबजारले स्थानीय अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।
यसैबीच, गोदावरी नगरपालिकाको कृषि शाखाका प्रमुख नन्दी मल्लले पनि हाटबजारले किसानलाई थप ऊर्जा र पहुँच दिएको बताइन्। उनले भनिन्, “नगरपालिकाले समय–समयमा बिउ, मल, कृषि उपकरण, कीटनाशक लगायतका सामग्री किसानलाई निःशुल्क वा सहुलियतमा वितरण गर्दै आएको छ। उत्पादनको लागि आवश्यक प्राविधिक सल्लाह, तालिम तथा अनुदान कार्यक्रममार्फत किसानलाई सशक्त बनाउने हाम्रो निरन्तर प्रयास छ।”
कार्यक्रममा सहभागी एक महिला कृषकले हाटबजारलाई दैनिक सञ्चालन गर्न माग गर्दै, “यहाँबाटै विषादी मुक्त तरकारी उपभोक्तासम्म पुगोस्,” भन्ने अपेक्षा राखिन्।
यसरी सुरु भएको गोदावरीको कृषि हाटबजारले स्थानीय कृषकको जीवनस्तर सुधार गर्ने मात्र होइन, नगरको समग्र आर्थिक गतिशीलता र स्वदेशी उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।














