सुदूरपश्चिममा दूग्ध पाउडर प्लान्ट निर्माणका लागि जग्गा व्यवस्थापन भएन, १२ करोड रकम फ्रिज जाने

Image
maya metro

अत्तरिया – सुदूरपश्चिममा दूग्ध पाउडर प्लान्ट निर्माण यस वर्ष नहुने भएको छ । आवश्यक जग्गा व्यवस्थापन हुन नसक्दा दूग्ध पाउडर प्लान्ट निर्माणको प्रक्रिया यस वर्ष सुरु नहुने भएको हो ।

प्रदेशको भूमि,व्यवस्था,कषि तथा सहकारी मन्त्रालयले प्लान्टका लागि आवश्यक जग्गा व्यवस्थापनका लागि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक पान सिंह ठगुन्नाको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति पनि गठन गरेको थियो ।

nisarga

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक एवम् जग्गा व्यवस्थापन समितिका संयोजक ठगुन्नाले दूग्ध पाउडर प्लान्ट निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसकेको बताए । प्लान्टका लागि करिब दुई बिघा जग्गा आवश्यक पर्ने भएपनि हालसम्म व्यवस्थापन हुन नसकेको उनले बताएका छन् ।

प्रदेश सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत यो योजना निर्माण हुने भएकोले मन्त्रालयकै नाममा जग्गा चाहिने हुँदा जग्गा व्यवस्थापन जटिल बनेको ठगुन्नाले बताए । सामुदायिक वनहरु जग्गा उपलब्ध गराउन राजी भएपनि कानुनी हिसाबमा चुनौती रहेको ठगुन्नाको भनाई छ ।

आफुहरुले केहि समय अगाडि टिकापुर, अत्तरिया, बर्दगोरिया लगायतका ठाँउहरुमा जग्गाको अवलोकन गरेको उनले बताए । ति मध्य टिकापुर नगरपालिकाको स्वामित्वमा रहेको जग्गाबारे छलफल भइरहेको भएपनि संघिय सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याउने अनुदान नछुट्याउदा अर्को समस्या उत्पन्न भएको उनको भनाई छ ।

जग्गा व्यवस्थापन नभएसंगै संघिय सरकारले सुदूरपश्चिमको कृषि मन्त्रालयलाई चालु आर्थिक वर्ष २०८१/८२ मा विशेष अनुदानमार्फत प्रदान गरेको १२ करोड रकम पनि फ्रिज जाने भएको छ । “प्लान्टका लागि आवश्यक जग्गा व्यवस्थापन हुन सकेन, त्यसैमाथि उक्त आयोजनाका लागि संघिय सरकारले प्रदान गरेको अनुदान आगामी आर्थिक वर्षमा व्यवस्थापन भएन । त्यसैले चालु आर्थिक वर्षमा अनुदानमार्फत आएको १२ करोड पनि फ्रिज जाने करिब निश्चित भएको छ ।, ठगुन्नाले भने ।”

प्लान्ट निर्माणमा बजेट भन्दा पनि जग्गा व्यवस्थापन चुनौतीपूर्ण रहेको ठगुन्ना बताउँछन् । ४० करोड लागतमा तीन वर्ष भित्र दूग्ध पाउडर प्लान्ट निर्माण सम्पन्न गर्ने गरि प्रदेशको कृषि मन्त्रालयले चालु आर्थिक वर्षमा संघिय सरकारबाट १२ करोड रकम विशेष अनुदान पाएको थियो । दूधको उत्पादन बढाउने र व्यावसायिक पशुपालनलाई जोड दिन दूग्ध पाउडर प्लान्ट स्थापना जरुरी रहेको ठगुन्नाको भनाई छ । पाउडर प्लान्टका लागि बजेट, आवश्यक जग्गा र पाउडर प्लान्ट चलाउन ईच्छुक संस्थाको मेल हुनुपर्ने उनी बताउँछन् ।

सुदूरपश्चिममा वधशाला पनि आवश्यक

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक ठगुन्नाले सुदूरपश्चिममा वधशाला पनि आवश्यक रहेको बताए ।

सुदूरपश्चिमबाट दिनहुँजसो सयौँको सङ्ख्यामा खसी,बोका,भैसी तथा राँगा निर्यात हुने गरेको हुँदा वधशाला पनि आवश्यक रहेको उनको भनाई छ ।

संघिय सरकारले नै चिनसंग भैसी र राँगाको मासु निर्यात गर्ने सम्झौता गरिसकेको हुँदा वधशाला पनि आवश्यक देखिएको उनको भनाई छ ।

माछा बाहेक कुखुरा,खसी,बोका,भैसी र राँगामा सुदूरपश्चिम आत्मनिर्भर रहेको ठगुन्नाले बताए । एकिन तथ्याङ्क नभएपनि वर्षेनी करिब डेढ देखि दुई अर्ब बराबरको दुग्धजन्य पर्दाथ सुदूरपश्चिमबाट निर्यात भइरहेको ठगुन्नाले बताएका छन् ।