डीडीसी अत्तरियामा एक महिनादेखि ताला, किसानको भुक्तानी ठप्प

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) को कार्यालयमा तालाबन्दी भएको १ महिना पुगेको छ । धनगढी सार्न लागेको डीडीसी नसार्न माग गर्दै आएको संघर्ष समितिले गत जेठ ८ गते अत्तरियास्थित कार्यालयमा तालाबन्दी गरेको थियो । त्यसपछि पनि उनीहरुले विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन् ।

जेठ १४ गते यस क्षेत्रका प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरुसंग पनि छलफल गरिएको थियो । समितिले जेठ १८ गते कैलालीका प्रमुख जिल्ला अधिकारीसंग भेट गरेको थियो । प्रमुख जिल्ला अधिकारीले डीडीसीका अध्यक्ष बेद बहादुर क्षेत्रीसंग फोनमार्फत कुराकानी गर्दै द्दिपक्षिय छलफलका लागि बोलाएका थिए ।

nisarga

त्यसपछि डीडीसीका उप महाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी छलफलका लागि आएका थिए । गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट सहितको टोलीले उनलाई गोदावरी तीन स्थानमा जग्गा व्यवस्थापन गर्न सकिने भन्दै अवलोकन गराएका थिए । सो अवसरमा उप महाप्रबन्धक अधिकारीले नगरपालिकालाई एउटा प्रतिवेदन पनि बुझाएका थिए भने एउटा भने मन्त्रालयमा बुझाउने उनले बताएका थिए ।

एक महिनादेखि तालाबन्दी हुँदा प्रशासनिक काम कारबाही प्रभावित भएको डीडीसी अत्तरियाका प्रमुख निरन्जन भट्टराईले बताएका छन् । उनले किसानको करिब डेढ करोड भुत्तानी ठप्प भएको बताएका छन् । संगै कर्मचारीको तलब लगायत सबै काम कारबाही प्रभावित बनेको उनले बताएका छन् । तर कारखाना भने सञ्चालनमै रहेको छ । डीडीसी अत्तरियाले सहकारीहरुमार्फत किसानहरुको भुक्तानी गर्दै आइरहेको छ ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले तालाबन्दी खोल्ने बारे कुनै छलफल नै नभएको बताएका छन् । डीडीसीका कार्यालय प्रमुख र नगरपालिकाले पनि यस विषयमा आफूसंग समन्वय नगरेको उनले बताए छन् । डीडीसी अत्तरियामै रहने निश्चित नभएसम्म ताला नखोल्ने उनले बताएका छन् ।

सम्बन्धित समाचार :

अत्तरियामा डीडीसी प्रकरण : भेलामा उठ्यो हाकिमलाई थुन्नेदेखि कालोमोसो दल्ने विषय