
अछाम – सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गतको चिसापानी–जंगलघाट–मंगलसेन सडक निर्माणमा ढिलाइ हुँदा अछामका स्थानीयवासीले वर्षा याममा यातायातका गम्भीर समस्या भोग्नुपरेको छ।
सडकको पुनेपाटा—बाँसकाँडा—जंगलघाट खण्डमा काम समयमा सम्पन्न नहुँदा बाटो हिलाम्मे बनेको र ठाउँ–ठाउँमा अवरोध भएको तुर्माखाँद गाउँपालिका–६ का स्थानीय अम्मर न्यौपानेले जानकारी दिए। “मुख्य सडक हिलाम्य भएपछि बिरामी, गर्भवती, बालबालिकालाई आउजाउमा निकै कठिनाइ भएको छ,” उनले भने।

पूर्वाधार विकास कार्यालय अछामका अनुसार चिसापानी–मंगलसेन सडक अन्तर्गतको गैरीटाँड–कमलबजार–बाँसकाँडा २३ किलोमिटर सडकको शिलान्यास २०७९ सालमा मन्त्री प्रकाशबहादुर देउवाले गरेका थिए। त्यसको काम अहिले अन्तिम चरणमा पुगेको भए पनि निर्धारित समयभन्दा तीन वर्ष ढिलो भइरहेको छ।
बाँसकाँडा–तुर्माखाँद–जंगलघाट सडक स्तरोन्नतिको लागि बानियाँ निर्माण सेवा प्रालिले २०७७ जेठ ९ गते ९ करोड ४७ लाख रुपैयाँमा सम्झौता गरेको थियो। २०७८ असार ३ गते काम सुरु भए पनि अहिलेसम्म मात्र ७७ प्रतिशत काम सम्पन्न भएको छ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर देवीप्रसाद ढुंगानाका अनुसार बाँकी काम सम्पन्न गर्नका लागि म्याद थप्ने प्रक्रिया अगाडि बढाइएको छ।स्थानीय पूर्णबहादुर बयक ९६५० भन्छन्, “चार वर्षदेखि सडक बनाउने भनेर काम त भइरहेको छ तर झन् हिलाम्मे भएको छ। गाडी चलाउन मुस्किल भइसकेको छ।”चिसापानी–मंगलसेन सडक योजना २०२८ सालमै सुरु भएको हो।
अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले भारतको तिकुनियाबाट जिप बोकाएर मंगलसेन पुर्याएको सम्झना अझै ताजा छ। तर सडक स्तरोन्नति भने चार वर्षअघिबाट मात्रै सुरु भएको हो।करिब ११० किलोमिटर लामो अछाम खण्डको यो सडक पूरा भएमा कैलाली र अछाम बीचको दूरी झन्डै २०० किलोमिटरले छोटिनेछ। अहिले अछाम पुग्न स्थानीयलाई डडेलधुरा र डोटी हुँदै ३ सय किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्छ। यो सडक पूरा भएमा कैलाली र सुर्खेतका २२ स्थानीय तह, साथै अछाम, बाजुरा, हुम्ला र कालीकोटका जनताका लागि यो मार्ग द्रुत, सुरक्षित र भरपर्दो वैकल्पिक राजमार्ग बन्ने अपेक्षा गरिएको छ।















